मलंगवा भन्सार कार्यालयले नियन्त्रणमा लिएको धानको बोरा भित्र चिनी लुकाएर भारतबाट नेपाल भित्रिएका भारतीय कन्टेनर ।

मलंगवा – भारतबाट धान बोकेर मलंगवा भन्सार नाका भित्रिएका दुईवटा कन्टेनरबाट १०० क्विन्टल चिनी बरामद् भएको छ ।

यूपी ६७ एपी ३९७२ र यूपी ६५ जेटी ७६०४ भारतीय नम्बरको दुईवटा कन्टेनरबाट सय/सय बोराको दरले २०० बोरा चिनी बरामद् भएको मलंगवा भन्सार कार्यालयले जनाएको छ । उक्त कन्टेनरहरु गत विहिबार भारतबाट नेपाल भित्रिएका थिए । जाँचपास गर्ने क्रममा चेकजाँच गर्दा भन्सारका कर्मचारीले आईतबार कन्टेनर भित्रबाट ५० किलो दरका २०० बोरा चिनी बरामद् गरेका हुन् ।
‘धान भनेको ट्रकमा आउने हो, किन कन्टेनरमा ल्याईयो भन्ने शंका लाग्यो’, मलंगवा भन्सारका प्रमुख मुरारी काफ्लेले उज्यालो अभियानसँग सोमबार दिउँसो भने, ‘शंका लागेपछि खोलेर चेकजाँच गर्दा फल्स बटन (काठको बाकस) भित्र चिनीका बोरा लुकाएको फेला पर्यो ।’
उक्त दुवै कन्टेनरमा रिलायन्स ट्रेड एन्ड इन्भेस्टमेन्ट कम्पनी हरिवन सर्लाहीको नाममा भारतबाट धान भित्रिएको हो । शंका लागेपछि दुवै कन्टेनरका चालकहरु भारतीय नौसाद र संजय कुमारलाई भन्सार कार्यालयका कर्मचारीले नियन्त्रणमा राखेका थिए ।
बरामद् चिनीको ६ लाख रुपैंया तथा ओसारपसारमा संलग्न दुईजना चालकको ३ लाख रुपैंया गरि ९ लाख रुपैंया धरौटी राखेर रिलायन्सका सञ्चालक पुरुषोत्तम घिमिरे तथा चालकद्वयलाई तारेखमा छाडिएको भन्सार प्रमुख काफ्लेले जानकारी दिए । ट्रकलाई नियन्त्रणमै राखेर थप आवश्यक कार्बाही प्रकृया अगाडी बढाईने भन्सार प्रमुख काफ्लेले बताए ।