कबिलासी – नेपाली कांग्रेस कबिलासी नगर समितिले आगामी स्थानीय तहमा कबिलासी नगरपालिकाकाे मेयर र उपमेयरका लागि नाम सिफारिस गरेकाे छ ।
आईतबार दिउँसाे नगर सभापति राजकुमार साहकाे सभापतित्वमा बसेकाे बैठकले मेयरका आकांक्षी ८ जना तथा उपमेयरका आकांक्षी ३ जनाकाे नाम सिफारिस गर्ने निर्णय गरेकाे हाे । बैठकले मेयरमा ब्रम्हदेव राय, रामवली राय, रघुनाथ राय, भिखारी राय, उपेन्द्र झा, अनिरुद्र प्रसाद साह, विनय कुमार कर्ण र शेख सहदुल्लाकाे नाम सिफारिस गरेकाे छ । १ नम्बरमा नाम सिफारिस भएका ब्रम्हदेव राय यसअघिकाे स्थानीय तह निर्वाचनमा मधेशी जन अधिकार फाेरमबाट मेयरका प्रत्यासी थिए । संघ/प्रदेशकाे चुनावमा भने ब्रम्देव राय कांग्रेस प्रवेश गरेका हुन् ।
त्यस्तै विनय कुमार कर्ण यसअघिकाे स्थानीय तह निर्वाचनमा नेकपा एमालेकाे तर्फबाट मेयरका प्रत्यासी थिए । राजपाबाट वीजयी हाल कबिलासी नगरपालिकाका मेयर काैशल किशाेर राय नेकपा एमालेमा प्रवेश गर्ने भएपछि कांग्रेसमा मेयरका आकांक्षीहरु बढेका छन् ।
त्यस्तै बैठकले उपमेयरमा शारदा देवी, राजकलि देवी र सुनैना देवीकाे नाम सिफारिस गरेकाे छ । बैठकमा कबिलासी नगरपालिका वडा नं १ देखि १० का वडा सभापतिहरुकाे उपस्थिती रहेकाे थियाे । जिल्लास्थित अन्य पालिकाहरुमा भने कांग्रेस पालिका स्तरीय समितिले आकांक्षी उम्मेद्वारहरुकाे नाम सिफारिसकाे निर्णय गरिसकेका छैनन् ।