logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

१० वर्षीय बालकको हत्या : छिमेकीको सेफ्टी ट्यांकीमा शव फेला पर्यो


  • उज्यालो अभियान

विहिबार बिहान सेफ्टी ट्यांकीबाट निकालिएको छोराको शव देख्ने वितिकैदेखि अचेत बनेकी मृतक आकाश ठाकुरकी आमा महासुन्दर ठाकुरलाई सम्हाल्दै आफन्त एवं छिमेकीहरु ।
बालकको हत्या गरी बोरा भित्र शव राखेर फालिएको सेफ्टी ट्यांकीको ढकन, यही ढकन खोलेर बालकको शव निकालिएको थियो ।

मलंगवा – ५ दिनदेखि हराएका बालकको शव छिमेकीको सौचालयको सेफ्टी ट्यांकीमा फेला परेको छ ।

मलंगवा नगरपालिका–१२ गम्हरिया निवासी जीतेन्द्र ठाकुरको छोरा १० वर्षीय मिठू भन्ने आकाश ठाकुरको शव फेला परेको हो । बालकको शव छिमेकी जगदिश ठाकुरको घरमै सटेर रहेको सौचालयको सेफ्टी ट्यांकीमा बोराभित्र हालेर लुकाएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक बालकको घर र विहिबार बिहान जम्मा भएका स्थानीय ।

आकाश गत चैत २० गते आईतबार राती ८ बजे गाउँमै न्वारानको भोज खान जाँदा हराएको भन्दै सोही राती ११ बजे मृतकका परिवारले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको थियो । लगतै अनुसन्धानमा खटिएको प्रहरी टोलीले जगदिश ठाकुर सहितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि उनैले बालकको शव देखाएको जिल्ला प्रहरी कार्यालय मलंगवा स्रोतले जनाएको छ ।

मृतक बालकको घरदेखि उत्तरपट्टि रहेको जगदिश ठाकुरको घर । यही घरको उत्तर कुनामा रहेको सेफ्टी ट्यांकीबाट बालकको शव निकालिएको थियो ।

विहिबार बिहानै सेफ्टी ट्यांकीबाट निकालिएको छोराको शव देख्ने बितिकैदेखि मृतक बालककी आमा महासुन्दर ठाकुर भावविह्वल छिन् । पटक–पटक अचेत भईरहेकी उनलाई आफन्त एवं छिमेकीले पानी खुवाउने लगायत सम्हाल्ने काम गरिरहेका छन् । छोरा वेपत्ता भएको खबर सुनेपछि वैदेशिक रोजगारीका सिलसिलामा बाहिर रहेका मृत बालकका बुबा जीतेन्द्र दुई दिनअघि मात्र घर फर्केका छन् । जीतेन्द्रका आकाश जेठा छोरा हुन् भने कान्छा छोरा १ वर्षका तथा दुई छोरीहरु रहेको पारिवारिक स्रोतले जनाएको छ ।

बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा लगिएको छ । प्रहरीले बालकको हत्यामा संलग्न भएको आरोपमा जगदिश ठाकुर सहित उनको परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । जगदिशका परिवारले बालकलाई बन्धक बनाएर तीन दिनअघि नै आफ्नै घरको माथिल्लो तलाको दक्षीणतर्फको कोठामा हत्या गरेको र बोराभित्र राखेर सेफ्टी ट्यांकी भित्र लुकाएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । उनीहरुले बालकका बुबालाई फोन गरेर पैसा समेत माग गरेको बुझिएको छ । यद्यपी यसको स्वतन्त्र रुपले पुष्टी भईसकेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेकाले विस्तृत विवरण आउन केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए