बुधबार साँझ गोली प्रहार गरी हत्या गरिएका ईन्दल महतो ।

टंक बहादुर क्षेत्री/मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा बुधबार सम्साँझै भारतीय युवकलाई गोली हानेर हत्या गरिएको छ । त्यो पनि जिल्ला प्रहरी कार्यालय मलंगवाबाट ३ किलोमिटर उत्तरपूर्व अनि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) मलंगवाबाट १ किलोमिटर मात्र दक्षिणमा भारतीय सार्प सुटरले गोली हानेका हुन् ।

गोली लागेर भारतको सितामढी जिल्ला कनौली थाना विसनपुर ग्राम पञ्चायत निवासी ३५ वर्षीय ईन्दल महतोको मृत्यु भएको हो । बुधबार साँझ साँढे ७ बजेतिर मलंगवा नगरपालिका–९ श्रीमति कृष्णादेवी माविको पूर्वी कम्पाउण्ड नजिक रिङरोडदेखि थोरै पश्चिम ईन्दलमाथि गोली प्रहार भएको थियो । BR 30 AA 8545 नम्बरको मोटरसाईकलमा रिङरोडबाट कृष्णादेवी मावि छेउको बाटो हुँदै मलंगवा बजारतर्फ आउँदै गरेका ईन्दलमाथि पछि-पछि आएको अर्काे एक मोटरसाईकलमा चढेका नकावधारी ३ जनाको समूहले गोली चलाएको थियो । तीनजना चढेर गुडिरहेको मोटरसाईकलबाट एक्लै हिँडिरहेका ईन्दलमाथि एक्कासी गोली वर्षीयो । प्रत्यक्षदर्शीका अनुसार गोली प्रहार गर्ने बितिकै तीनजना चढेको मोटरसाईकल रिङरोडबाट पश्चिम कृष्णादेवी माविको दक्षिण बाटो हुँदै मलंगवा बजारतर्फ हुईंकियो भने गोली लागेका ईन्दल झण्डै ५० मिटरसम्म पैदल दौडिएर ‘हमर गोली मार्लै’ भन्दै चिच्याएका थिए ।
गोली प्रहार हुँदा सशस्त्र प्रहरी बीओपी मलंगवाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक उमेश कार्की पक्राउ गरिएका सामान भन्सार कार्यालयमा बुझाएर फर्किने क्रममा पूरानो टेलिकम टावर स्थित कार्यालय नजिक पुगेका थिए । उनीसँगै भन्सार गएका दुईजना सशस्त्र प्रहरीका सुरक्षाकर्मीको मोटरसाईकल भने केही पछाडी नै रहेको थियो । पटाका पड्केको जस्तो आवाज सुनिनु र मान्छेहरु चिच्याउँदै भागाभाग गरेपछि सशस्त्रका दुईजना सुरक्षाकर्मी फर्किएर घटनास्थल पुग्दा गोली लागेका ईन्दल चिच्याउँदै दौडिएर लडेको अवस्थामा फेला पारेको एक प्रत्यक्षदर्शीले बताए । लगतै सशस्त्र प्रहरी निरीक्षक कार्की पनि घटनास्थल पुग्दा ईन्दल भुईमा सुतेर छट्पटाईरहेका थिए र तत्काल एउटा अटो रोकेर सशस्त्र प्रहरीको टोलीले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएको थियो । तत्काल अस्पताल पुर्याईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाईते छट्पटाई रहेकाले तत्काल उद्धार गर्नतिर लाग्दा गोली प्रहार गर्ने समूह खोज्नेतिर ध्यान दिनै नसकिएको सशस्त्र प्रहरीका एक अधिकृतले जानकारी दिए । ‘घाईते छट्पटाईरहेकाले हाम्रो टोली उद्धारतर्फ जुट्दा, गोली प्रहार गर्ने समूहको पिछा गर्न सकेनौं’, ती अधिकृतले उज्यालो अभियानसँग भने, ‘घटनास्थल आसपास मान्छेहरुको निकै भिडभाड भएकाले पनि गोली हान्ने समूहको खोजी कार्यमा केही समस्या आईलाग्यो ।’
´बचाउ-बचाउ` भन्दै रक्ताम्मे अवस्थामा दौडिरहेका एक घाईते अनि स्थानीयहरुको भागाभागको दृष्यले फिल्मी शैली जस्तै लागेको एक प्रत्यक्षदर्शीले जानकारी दिए । ‘मलाई त एकछिन मद्रासी फिलिमको सुटिङ भईरहेको छ जस्तो लाग्यो’, ती प्रत्यक्षदर्शीले उज्यालो अभियानसँग भने, ‘डङ डङ आवाज आउने वितिकै एकजना रक्ताम्मे भएर दौडिँदा त एकैछिनमा दृष्य अचम्मित बन्यो ।`
जिल्ला प्रहरी कार्यालयको हालसम्मको अनुसन्धानले ईन्दलमाथि ३ गोली लागेको देखिन्छ । उनको दाहिने पाखुरा, बायाँ कुहिना र दायाँ कोखामा चोट देखिएकाले ३ गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएपनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र कति गोली र कुन–कुन हतियारबाट गोली प्रहार भएको भन्ने कुरा खुल्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । घटनास्थलमा फेला परेको खोका हेर्दा अटोमेटिक पेस्तोलबाट ईन्दलमाथि गोली प्रहार भएको प्रनाउ बुढाथोकी बताउँछन् । यद्यपी पोष्टमार्टम रिपोर्ट नआईकन एकीन भन्न नसकिने बुढाथोकीले जानकारी दिए ।
शवको विहिबार साँझसम्म पनि पोष्टमार्टम भएको छैन । मृतकका आफन्तहरुले पूरा गर्नुपर्ने प्रकृया लगायत कारणले पोष्टमार्टममा ढिलाई भएको बताईएको छ । मृतककी श्रीमति सीमा कुमारीले विहिबार अपरान्ह ७ जना भारतीय नागरिक विरुद्ध किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाएकी छिन् । ‘मृतककी श्रीमतिको तर्फबाट ७ जना भारतीय नागरिक विरुद्ध किटानी जाहेरी आईपुगेको छ’, जिल्ला प्रहरी कार्यालयका एक अनुसन्धान अधिकृतले विहिबार साँझ उज्यालो अभियानसँग भने, ‘मृतकका आफन्तहरुबीच जाहेरीमा अझै १ जनाको नाम किटानी थप्ने कुरा चलिरहेकाले जाहेरी दर्ता भईसकेको छैन, सम्भवतः भोली सबै कानूनी प्रकृया पूरा गरेर शवको पोष्टमार्टम अनि जाहेरी दर्ताको काम हुन्छ होला ।’
गोली प्रहारबाट मृत्यु भएका ईन्दल महतो विसनपुर ग्राम पञ्चायतमा चल्तापूर्जा एवं पहुँचवाला युवा थिए । महेश महतोका छोरा ईन्दल ठेक्का पट्टाको समेत काम गर्थे । सोनवर्षा–सितामढी सडक अन्तर्गत अररिया चोकबाट केही पश्चिम विसनपुर निवासी ईन्दलका भाई ईनरजित महतोको पनि ६ वर्षअघि गाउँमै गोली हानेर हत्या गरिएको थियो । भाईको हत्या पश्चात बुहारी अनु कुमारीलाई ईन्दलले पछिल्लो चुनावमा विसनपुर ग्राम पञ्चायतको उपप्रमुखमा समेत जिताउन सफल भएका थिए । श्रीमानको हत्या पश्चात ‘सेन्टिमेन्टल’ रुपमा पत्नी अनु कुमारीले उपप्रमुखमा जीत हाँसिल गरेको जानकारहरु बताउँछन् ।
त्यही बीचमा एउटा कर्तब्य ज्यान मुद्धामा ईन्दललाई मुख्य योजनाकारको रुपमा अभियोजन लाग्यो । उक्त घटनामा पक्राउ परेका अभियुक्तले समेत मुख्य योजनाकारको रुपमा नाम पोलेपछि ईन्दल विगत ६ महिनादेखि सर्लाही सदरमुकाम मलंगवामा बस्दै आएका थिए । उनी मलंगवा नगरपालिका–२ निवासी नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक किशोरी महतोका ज्वाईं हुन् । ससुरालीमै बसेर मलंगवा बजारतिर घुम्दै समय बिताउँदै आएका ईन्दललाई बुधबार साँझ भने भारतीय सुटरले गोली हानेरै छाडे । ईन्दल मुछिएको भनिएको कर्तब्य ज्यान मुद्धाका पीडित पक्षले भारतकै अपराधिक समूह प्रयोग गरेर उनलाई गोली हान्न लगाएको जानकारहरु बताउँछन् । ईन्दल भारतमा भएका अन्य विभिन्न अपराधिक घटनाको मुद्धामा समेत अभियुक्त रहेको बताईएको छ ।
लुकेर बसेको सूरु-सूरुको समयमा मलंगवा–२ तिरै दिन बिताउने गरेका ईन्दल पछिल्लो समय भने कृष्णादेवी विद्यालय छेउ आलु गोदाम संचालन गर्ने भारतीय व्यापारीहरुसँग नजिकिएका थिए । उनको दैनिकी आलु पसल तथा त्यसै आसपासमा बित्ने गरेको थियो । ससुराली क्षेत्र अलि भित्र भएको र गोली प्रहार गर्न कठिन भएकाले ईन्दलले पछिल्लो समय कृष्णदेवी विद्यालय क्षेत्र तथा रिङरोडतिर दिन बिताउने र रातबिरात पनि त्यतै घुमफिर गर्न थालेपछि भने भारतीय सुटरलाई उचित मौका मिलेको ईन्दललाई नजिकबाट चिनेका एक भारतीयले बताए । ‘१५ दिनभन्दा बढी समयदेखि रेकी गरेर भारतीय सुटरले बुधबार साँझ ईन्दलमाथि गोली हानेका हुन्’, ती जानकारले उज्यालो अभियानसँग भने, ‘उनलाई गोली हानेर हत्या गर्न सुटरलाई लाखौं दिईएको छ ।’ गोली प्रहार लगतै नकावधारी उक्त समूह चढेर आएकै मोटरसाईकलमा भारततर्फै भागिसकेका छन् ।