हरिवन – टाइफाइडविरुद्धकाे खोप अभियान बारे हरिवन नगरपालिकाले मंगलबार संचारकर्मीहरुसँग अन्तरक्रिया गरेको छ ।
नगरपालिकाले चैत २५ गतेदेखि ११ वटै वडाका विद्यालय तथा स्वास्थ्य संस्थाहरुबाट १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम तय गरेको नगरपालिका स्वास्थ्य शाखाका संयोजक शशिकान्त सिंहले जानकारी दिए । उनका अनुसार हरिवन नगरभित्र १७ हजार १२ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य रहेको छ । चैत २९ गतेसम्म नगरभित्रका सामुदायिक र निजी विद्यालयहरुमै पालैपालाे खाेप केन्द्र संचालन गरिने र छुटपुटका लागि ३० गते स्वास्थ्य केन्द्र र आधारभूत स्वास्थ्य केन्द्र गरि ११ वटा स्वास्थ्य केन्द्रमा खाेप लगाईने स्वास्थ्य शाखा सह-संयाेजक रामबाबु चाैधरीले जानकारी दिए ।
चाैधरीकाे संचालन रहेकाे कार्यक्रम नगरपालिकाकी उपमेयर रेणुका पौडेलकाे अध्यक्षता रहेकाे थियाे भने नर्सिङ निरीक्षक लक्ष्मी आचार्यले स्वागत गरेकी थिईन् । क्षयरोग कार्यक्रम अधिकृत रोशनी घतानी लगायतकाे उपस्थिती रहेकाे कार्यक्रममा बाेल्दै उपमेयर पाैडेल, सासापुर हेल्थपाेष्ट प्रमुख श्यामविनाेद कुशवाहा लगायतले यसअघि काेराेना भाईरस संक्रमण विरुद्दका अभियान एवं खाेप अभियान सफल पार्नका लागि संचारकर्मीहरुले अत्यन्त सकारात्मक सहयाेग गरेकाे उल्लेख गर्दै टाइफाइड विरुद्दकाे खाेप अभियान समेत सफल पार्नका लागि संचारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे ।
जिल्लाभर चैत २५ गतेबाट टाइफाइड विरुद्दकाे खाेप अभियान संचालन हुँदैछ । मंगलबार जिल्ला स्थित विभिन्न पालिकाले खाेप अभियानबारे अन्तर्क्रिया गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले पनि गत चैत १६ गते बुधबार जिल्लाभरका संचारकर्मीहरुसँग टाइफाइडविरुद्दकाे खाेप अभियानबारे अन्तरक्रिया गरेकाे थियाे ।
फाेटाे क्याप्सन : हरिवन नगरपालिकाले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै उपमेयर रेणुका पाैडेल तथा उपस्थित स्वास्थ्यकर्मीहरु । (तस्बिर : उज्यालाे अभियान)