लालबन्दी – सर्लाहीको लालबन्दीमा २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित एक जना वडाध्यक्षसहित १० जना जनप्रतिनिधि आइतबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
माओवादीबाट निर्वाचित लालबन्दी नगरपालिका-१३, पत्थरकोटका वडाध्यक्ष शिवकृष्ण वैद्यसहित सो वडाका चारै जना वडा सदस्य, लालबन्दी नगरपालिका–१२, जियाजोरका तीन जना वडा सदस्य र लालबन्दी नगरपालिका–११, हीरापुरका दुई जना वडा सदस्य एकसाथ कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेहरुमा लालबन्दी १३ का वडाध्यक्ष वैद्य, सोही वडाका वडा सदस्यहरु अम्बरबहादुर माझी, मोहन कुमार राउत, गंगामाया एसमाली र कन्चन विक, त्यस्तै वडा नंं. १२ का वडा सदस्यहरु धनबहादुर मगर, अप्सरा वाग्ले र रीमाकुमारी सार्की, वडा नं. ११ का वडा सदस्यहरु विना कुमारी गुर्मछान मगर र राजवती कुमारी कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण यादव, उपसभापति एवं प्रदेशका मन्त्री वीरेन्द्र प्रसाद सिंह, जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, पूर्व आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ, १ नम्वर क्षेत्रका क्षेत्रीय सभापति हरिबहादुर लुंगेली लगायतले लालबन्दीस्थित होटल आर्यामा फूलमाला र अबिर पहिर्याएर कांग्रेसमा प्रवेश गराएका कांग्रेस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्यले बताए ।
यसैबीच, आइतबार नै नेकपा एमालेको तर्फबाट लालबन्दी नगरपालिका–८, मा निर्वाचित वडा सदस्य संजिव कुमार श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
फोटो क्याप्सन : वडाध्यक्ष शिवकृष्ण वैद्यलाई कांग्रेसमा प्रवेश गराइँदै । (तस्बीर : उज्यालो अभियान)