
टंक बहादुर क्षेत्री/धनकाैल – सर्लाही धनकौलका आगलागीपीडितहरु वर्षायाम कसरी काट्ने हाेला भन्ने चिन्ताले छट्पट्टिएका छन् ।
आकाशमा कालाे बादल मडारिने अनि माैसम धाम्मधुम्म हुने बितिकै धनकौल गाउँपालिका-५, हरकठवा स्थित पासवान टाेलका रामनाथ पासवानकाे हाेसहवास उड्छ । वर्षा भईहाल्याे भने ५ जना बालबालिका सहितकाे परिवारले सानाे त्रिपालमुनीकाे बास कसरी कटाउने हाेला भन्ने चिन्ताले रामनाथलाई छाेपिहाल्छ । चर्काे घामसहितकाे गर्मी माैसम भएकाले एकदमै हाेचाे त्रिपालकाे घरमा दिन कटाउन समेत निकै मुस्किल पर्ने गरेकाे लिलावति देवी पासवानले गुनासाे गरिन् ।
उनिसँगै पासवान टाेलका १३ परिवारकाे अवस्था त्यस्तै छ । खान लाउन त जसाेतसाे चल्ने भएपनि हुरीबतास अनि पानी पर्याे भने रात कसरी कटाउने भन्ने चिन्ताले सताउन थालेकाे रामनाथले गुनासाे गरे । ´यदि हुरीबतास चल्याे र पानी परिहाल्याे भने हामी ठूला मान्छे त दुःखसुख रात कटाउँला तर यी लालाबालाकाे कस्ताे हरिबिजाेग हुने हाे`, रामनाथले याचना गरे, ´काेही दाताले कम्तिमा सानाे झुपडी नै घर भएपनि बनाईदिए हाम्राे ठूलाे कल्याण हुन्थ्याे ।` दैनिक ज्यालादारीबाट बिहान बेलुकाकाे छाक टार्दै आएका उनीहरुलाई मजदुरीकाे कमाईले घर बनाउने कल्पना ´आकाशकाे फल आँखा तरी मर` भन्ने उखान जतिकै हाे ।
गत चैत १२ गते शनिबार दिउँसाे एक्कासी सल्केकाे आगाेले पासवान टाेलका १३ घर पूर्ण रुपमा जलेर नष्ट भएको थियाे भने एउटा घरमा आंशिक क्षति भएकाे थियाे । आगलागीबाट घरमात्र हैन भित्र रहेका भाँडाकुँडा, अन्नपात, लत्ताकपडा लगायत सम्पूर्ण सामान समेत जलेपछि पासवान परिवारकाे विल्लीबाठ भएकाे छ ।
आगलागी भएकै दिन साँझतिर नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापती सुरेन्द्र प्रसाद सिंह, मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह लगायतको उपस्थितीमा धनकाैल गाउँपालिकाले प्रति परिवार ५/५ हजार नगद सहित २५ थान कम्बल, २५ थान त्रिपाल, चामल, दाल, चिउरा, तेल, ग्याँस सिलिण्डर, औषधि लगायत सामग्री दिएकाे थियाे । त्यस्तै जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस साेसाईटी, बागमती सेवा समाज, वर्ल्ड भिजन लगायतले पनि लत्ताकपडा सहित विभिन्न राहत सामग्री दिएका छन् । तर प्राप्त सबै राहत सामग्री मात्र पीडित परिवारका लागि निकै अपर्याप्त छ ।
आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, सितल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएको ५ नम्बर वडाका वडाध्यक्ष गजेन्द्र महतोले बताए ।
स्थानीय तहकाे निर्वाचन नजिकिएसँगै सबैजसाे राजनैतिक दलका नेताहरु उम्मेद्वार बन्न पाईने हाे कि नपाईने हाे, मतदातालाई आफुतिर कसरी तान्ने भन्ने छटपटी अनि राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचन सफल पार्ने छट्पट्टी छ भने राज्यकाे नजरमा नपरेका धनकाैलका आगलागीपीडित परिवारलाई भने साँझबिहानकाे छाक टार्न र त्रिपालकाे बासले हुरीबतास र वर्षायाम कसरी काट्ने हाेला भन्ने चिन्ता र छट्पट्टीले सताएकाे छ ।
फाेटाे क्याप्सन : आगाेले घर जलेर पूर्ण रुपमा नष्ट भएपछि आगलागीपीडित परिवार बसिरहेका त्रिपालका स-साना घर । (तस्बिर : उज्यालाे अभियान)
(उज्यालाे अभियान मिडिया नेटवर्क प्रालिका सञ्चालक सदस्य एवं पत्रकारद्वय घनश्याम बलम्पाकी र श्रवण थापाकाे सहयाेगमा)