logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवन जेसिजले गरायाे राजमार्गमा सबारी चलाउने चालकको आँखा परीक्षण


  • उज्यालो अभियान

कार्यक्रममा उपस्थित प्रमुख अतिथि शताब्दी पुरुष बबरजंग थापा (बीचमा ढाका टाेपी लगाएका) लगायत अतिथिहरु । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिकामा आइतबार सवारी चालकहरुको आँखा परीक्षण गरिएको छ ।

प्रस्तावित हरिवन सिटी जेसिजको आयोजनामा आईतबार बिहान महेन्द्र राजमार्गमा चल्ने साना ठूला सवारीका चालकहरुको आँखा परीक्षण गरिएको हो । जेसिजले बाल पोषण योजना सुखेपाेखरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरको सहकार्य तथा रेडक्रस युवा सर्कल, हरिवनको समन्वयमा महेन्द्र राजमार्गमा चल्ने साना ठूला सवारी साधनका चालकहरुको आँखा परीक्षण गरिएको प्रस्तावित हरिवन सिटी जेसिजका अध्यक्ष विनाेद महतले जानकारी दिए ।

बाल पोषण योजना, सर्लाहीका रमेश भट्टराई र रमन उपाध्यायको नेतृत्वमा खटिएको नेत्र सम्बन्धी स्वास्थ्यकर्मी टोलिद्वारा गरीएको चेकजाँचमा एक सय भन्दा बढी चालकहरुको आँखा परीक्षण गरिएको छ । जाँच गरिएका मध्ये झण्डै २० जना सवारी चालककाे आँखामा समस्या देखिएकोले थप जाँचका लागि परामर्श दिईएको र अन्यको आँखाको अवस्था सामान्य रहेको आयोजकले जनाएको छ ।

हरिवन ट्राफिक प्रहरी चेकपाेष्ट स्थित महेन्द्र राजमार्गमा आयाेजित आँखा परीक्षण कार्यक्रममा हरिवन नगरपालिकाका शताब्दी पुरुष बबरजंग थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय, हरिवनका प्रमुख प्रहरी निरिक्षक भूपेन्द्र गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरका प्रहरी निरिक्षक केदारमान दोङ्, रेडियो सर्लाहीका स्टेशन म्यानेजर सन्जु कर्ण, सुमार्ग एकेडेमीका संस्थापक सुदर्शन पोखरेल, लालबन्दी सिटी जेसिजका अध्यक्ष सन्तोष पौडेल लगायतको उपस्थिती रहेको नेपाली कांग्रेसका जिल्ला सचिब समेत रहेका कार्यक्रम संयोजक निरज कार्कीले जानकारी दिए । सबारी साधनका चालककाे आँखामा समस्या भए ठूला दुर्घटना हुने भएकाले सचेतना समेत जगाउने उद्देश्यले आँखा परीक्षण कार्यक्रम गरिएकाे हरिवन सिटी जेसिजले जनाएकाे छ ।

फोटो क्याप्सन : सवारी चालकको आँखा परीक्षण गरिँदै । (तस्बीर : उज्यालो अभियान)