एसपी प्रसाईंलाई बिदाई गर्दै कर्मचारी मिलन केन्द्रका पदाधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाईं विहिबार सर्लाहीबाट बिदा भएर काठमाडौंतर्फ लागेका छन् ।
प्रहरी प्रधान कार्यालय मातहत रहेको योजना तथा अन्वेषण शाखामा सरुवा भएका एसपी प्रसाईंलाई विहिबार बिहान जिल्ला प्रहरी कार्यालय मलंगवाले एक कार्यक्रमको आयोजना गरेर बिदाई गरेको छ । त्यसैगरी कर्मचारी मिलन केन्द्र सर्लाहीले पनि एसपी प्रसाईंलाई फूलमाला, खादा पहिर्याउँदै मायाको चिनो प्रदान गरेर बिदाई गरेको छ ।
एसपी प्रसाईं गत कात्तिक पहिलो साता मात्र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट सर्लाही प्रमुखको रुपमा काजमा खटिएका थिए । एसपी प्रसाईंले सर्लाही प्रहरी प्रमुखको जिम्मेवारीमा आफूलाई उचित सल्लाह, सुझाव सहित समन्वयात्मक सहयोग गर्ने सरकारी अधिकारी एवं राजनैतिक दलका नेता सहित गैर सरकारी क्षेत्रका व्यक्तित्वहरु प्रति आभार समेत प्रकट गरेका छन् । प्रहरी प्रधान कार्यालयले सर्लाही प्रहरी प्रमुखमा भने सोही शाखामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेललाई काजमा खटाएको छ । नयाँ एसपी पोखरेल शुक्रबार बेलुकासम्ममा सर्लाही आइपुग्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।