राजघाट – सर्लाहीकाे बागमती नगरपालिका अन्तर्गत राजघाटमा क्रेनकाे ठक्करबाट मृत्यु भएकी छात्राकाे शव शुक्रबार बिहान २ बजे घटनास्थलबाट उठाईएकाे छ । पाेष्टमार्टमका लागि शव राती नै सदरमुकाम ममलंगवा स्थित प्रादेशिक अस्पताल पठाईएकाे ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएकाे छ ।
विहिबार मध्यान्ह बागमती नगरपालिका-७ राजघाट स्थित घरबाट नव जन जागरण माविमा अध्ययनका लागि साईकलमा उत्तरतर्फ जाँदै गरेकी स्थानीय रविलाल परियारकी छाेरी सुमित्रा परियारलाई विपरित दिशाबाट आईरहेकाे क्रेनले नेमी चाेक नजिक ठक्कर दिएकाे थियाे । विद्युत पाेल बाेक्ने, गाड्ने, उखेल्ने, निर्माण सामग्री तलमाथि ओसार्ने लगायत विभिन्न काममा प्रयाेग हुने नम्बर समेत नभएकाे क्रेनकाे ठक्करबाट सुमित्राकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
प्रत्यक्षदर्शीका अनुसार ११ कक्षामा पढने सुमित्रा र उनकी भाउजु एउटै साईकलमा विद्यालयतर्फ हिँडेका थिए । साईकल हाँकिरहेकी सुमित्रालाई टाउकाेमा सामान्य ठक्कर लागेपछि क्रेनका चालकले पुनः अर्काे पटक पनि ठक्कर दिएर उनकाे मृत्यु भएकाे स्थानीयकाे आराेप छ ।
बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी माेक्तान, नेपाली कांग्रेस प्रदेश क सभापति जवाहर कुशवाहा, ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशंकर यादव लगायतले दाेषिमाथि कडा कानूनी कार्बाही गर्ने, मृतकका परिवारलाई अधिकतम क्षतिपूर्ती उपलब्ध गराउन पहल गर्ने लगायत प्रतिबद्दता जनाएपछि स्थानीयले शव उठाउन दिएका हुन् ।
छात्रालाई ठक्कर दिने क्रेनमा स्थानीयले आगाे लगाए, शव अझै उठेन
विहिबार दिनभर घटनास्थलमा नव जन जागरण माविका विद्यार्थीहरुले नारा जुलुस सहित विराेध प्रदर्शन गरेका थिए । घटना भएकाे लामाे समय भएपनि नगरपालिकाका मेयर भरत कुमार थापा, वडाध्यक्ष दुर्गा लामा लगाएत घटनास्थलमा नआएकाे भन्दै स्थानीय बासिन्दा र विद्यार्थीहरु आक्राेशित बनेका थिए । उनीहरुले आगाे नियन्त्रणका लागि आएकाे हरिवन नगरपालिकाकाे दमकल पनि फर्काईदिएका छन् । क्रेनका चालक, मालिक लगायतलाई घटनास्थलमै ल्याउनु पर्ने भन्दै स्थानीयले शव उठाउन दिएका थिएनन् ।
स्थानीय बासिन्दाले क्रेनमा आगाे समेत लगाईदिएका छन् । आगाेले जलेर क्रेन पूर्ण रुपले क्षतिग्रस्त भएकाे छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी ठूलाे संख्यामा भएपनि आक्राेशित विद्यार्थी एवं महिलाहरुकाे उल्लेख्य भिड भएकाले बल प्रयाेग गरेर आगाे नियन्त्रणमा लिन सकेकाे थिएन । नम्बर नलेखिएकाे उक्त क्रेन बागमती खाेलामा राैतहटकाे समनपुर र सर्लाहीतर्फ जाेड्ने पुल बनाउने ठेक्का लिएका ठेकेदारकाे भएकाे बताईएकाे छ ।
क्रेनमा रहेका चालक सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएकाे छ ।
फाेटाे क्याप्सन : क्रेनकाे ठक्करबाट मृत्यु भएकी छात्रा सुमित्रा परियारकाे शव तथा विद्यालय जाँदा उनले बाेकेकाे झाेला । (फाेटाे : उज्यालाे अभियान)