logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

लालबन्दीमा भारतीय कार दुर्घटना : चालककाे मृत्यु, पाँच घाइते


  • उज्यालो अभियान

लालबन्दी – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा बुधबार राती भएको कार दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

दुर्घटनामा पाँचजना भारतीय नागरिक घाइते भएका छन् । भारतको सोनवर्षाबाट नेपाल भित्रिएकाे कार नवलपुर हुँदै पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बीएम १५३७ नम्बरको भारतीय कार राती पौने १० बजे लालबन्दी नगरपालिका-१७, स्थित कालिञ्जोर पुल छेउमा दुर्घटनामा परेको हो । दुर्घटनामा कार चालक भारतको सीतामढी जिल्ला बयलडाबड धनुषी २ निवासी २२ वर्षीय नवीन यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । यादवलाई उपचारका लागि गढिमाई अस्पताल लालबन्दी ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

दुर्घटनामा मृतक चालककै गाउँका २७ वर्षीय अतुल कुमार, १९ वर्षीय उमेश भन्ने दिवयान्स यादव, २८ वर्षीय प्रिन्सराज राजपुत, २२ वर्षीय बजरङ्गी भन्ने शौरव यादव र भारत मुजफ्फरपुर रामनगर १ बस्ने २५ वर्षीय अजित यादव घाइते भएका छन् । उनीहरुमध्ये २७ वर्षीय अतुल कुमारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाँचै जना घाइतेको गढिमाई अस्पतालमै उपचार चलिरहेको छ ।

प्रहरीले अत्यन्तै तीव्र गतिका कारण नियन्त्रण गुमाएर कार दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । पूर्वतर्फ गइरहेको कार विपरीत लेनमा सडकबाट दक्षिणतर्फ १० फिट तल खसेर दुर्घटना भएको प्रहरी निरीक्षक थापाले बताए । घाइतेहरुले मृतक चालकको आफन्तकहाँ जाँदै गर्दा दुर्घटनामा परेको बताएपनि कार कहाँ जाँदै गरेको थियो भन्ने प्रष्ट नभइसकेको र यस सम्वन्धमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

फाेटाे क्याप्सन : राजमार्गबाट तल खसेर उल्टिएकाे भारतीय कार । (तस्बिर : उज्यालाे अभियान)