
राजघाट – सर्लाहीकाे बागमती नगरपालिका अन्तर्गत राजघाटमा क्रेनकाे ठक्करबाट विद्यालय हिँडेकी छात्राकाे मृत्यु भएपछि आक्राेशित स्थानीय बासिन्दाले साे क्रेनमा आगाे लगाएका छन् ।
आगाेले जलेर क्रेनकाे आधाभन्दा बढी भाग क्षतिग्रस्त भईसकेकाे छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी ठूलाे संख्यामा भएपनि आक्राेशित विद्यार्थी एवं महिलाहरुकाे उल्लेख्य भिड भएकाले बल प्रयाेग गरेर आगाे नियन्त्रणमा लिन सकेकाे छैन । नम्बर नलेखिएकाे उक्त क्रेन बागमती खाेलामा राैतहटकाे समनपुर र सर्लाहीतर्फ जाेड्ने पुल बनाउने ठेक्का लिएका ठेकेदारकाे भएकाे बताईएकाे छ ।
विहिबार मध्यान्ह बागमती नगरपालिका-७ राजघाट स्थित घरबाट नव जन जागरण माविमा अध्ययनका लागि साईकलमा उत्तरतर्फ जाँदै गरेकी स्थानीय रविलाल परियारकी छाेरी सुमित्रा परियारलाई विपरित दिशाबाट आईरहेकाे क्रेनले नेमी चाेक नजिक ठक्कर दिएकाे प्रहरीले जनाएकाे छ । विद्युत पाेल बाेक्ने, गाड्ने, उखेल्ने, विभिन्न निर्माण सामग्री तलमाथि ओसार्ने लगायत विभिन्न काममा प्रयाेग हुने क्रेनकाे ठक्करबाट सुमित्राकाे घटनास्थलमै मृत्यु भएकाे छ ।
प्रत्यक्षदर्शीका अनुसार ११ कक्षामा पढने सुमित्रा र उनकी भाउजू पनि साईकलमा विद्यालयतर्फ हिँडेका थिए । सुमित्रालाई टाउकाेमा सामान्य ठक्कर लागेपछि क्रेनका चालकले पुनः अर्काे पटक पनि ठक्कर दिएपछि उनकाे मृत्यु भएकाे स्थानीयकाे आराेप छ ।
अहिले घटनास्थलमा जब जन जागरण माविका विद्यार्थीहरुले नारा जुलुस सहित विराेध प्रदर्शन गरिरहेका छन् । घटना भएकाे दुईघण्टा भन्दा बढी भएपनि नगरपालिकाका मेयर भरत कुमार थापा, वडाध्यक्ष दुर्गा लामा लगाएत घटनास्थलमा नआएकाे भन्दै स्थानीय बासिन्दा र विद्यार्थीहरु आक्राेशित बनेका छन् । उनीहरुले आगाे नियन्त्रणका लागि आएकाे हरिवन नगरपालिकाकाे दमकल पनि फर्काईदिएका छन् । उनीहरुले मृतककाे शव समेत घटनास्थलबाट उठाउन दिएका छैनन् । क्रेनका चालक लगायतलाई घटनास्थलमै ल्याउनु पर्ने भन्दै स्थानीयकाे माग छ ।
क्रेनमा रहेका चालक सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएकाे छ ।
फाेटाे क्याप्सन : स्थानीयले आगाे लगाएपछि जलिरहेकाे छात्रालाई ठक्कर दिने क्रेन । (फाेटाे : उज्यालाे अभियान)