मलंगवा – नेपाल पत्रकार महासंघको ६७ औँ स्थापना दिवसको अवसर पारेर बुधबार सर्लाही सदरमुकाम मलंगवामा प्रभातफेरि निकालिएको छ ।
महासंघको सर्लाही शाखाले जिल्ला स्थित संचारकर्मीहरुको सहभागितामा प्रभातफेरी निकाल्दै स्थापना दिवस मनाएको हो । प्रभातफेरिमा प्रदेश काेषाध्यक्ष विश्वनाथ ठाकुर, प्रदेश सदस्य शंकर श्रेष्ठ, जिल्ला अध्यक्ष टंक बहादुर क्षेत्री, पूर्व अध्यक्ष राेशन न्याैपाने, मिडिया काउन्सिलकी सदस्य बन्दना झा, महासंघ सर्लाहीका पदाधिकारी एवं सदस्यहरु लगायत संचारकर्मीकाे उपस्थिती रहेकाे थियाे ।
त्यसैगरि बुधबार नै सदरमुकाम मलंगवामा महासंघका जिल्ला अध्यक्ष टंक बहादुर क्षेत्रीको अध्यक्षतामा जिल्ला कार्य समितिको बैठक पनि बसेको छ । रेडियाे मलंगवामा बसेकाे बैठकले मलंगवा नगरपालिका-१०, स्थित नेपाल पत्रकार महासंघ सर्लाहीको अधूरो भवन निर्माणका लागि बख्तियार अलीकाे संयोजकत्वमा फेकन महतो र बन्दना झा सदस्य रहेको ३ सदस्यीय निर्माण उपसमिति गठन गरेको छ । त्यस्तै, बैठकले सदरमुकाम मलंगवा निवासी संचारकर्मी मनोज यादवकी आमा शान्तिदेवी यादवको निधनमा दुःख व्यक्त गरेको छ । अध्यक्ष क्षेत्रीकाे नेतृत्वमा मातृशाेकमा परेका यादवलाई उनी काममा बसेकै भाँडसर स्थित घरमा पुगेर संचारकर्मीहरुकाे समूहले भेटघाट गरेकाे थियाे ।
फाेटाे क्याप्सन : बुधबार बिहान सदरमुकाम मलंगवामा पत्रकार महासंघ सर्लाहीले निकालेकाे प्रभातफेरि । (तस्बिर : उज्यालाे अभियान)