अग्नीपीडित परिवारलाई राहत सामग्री प्रदान गर्दै कांग्रेस नेता एवं प्रदेश मन्त्री वीरेन्द्रप्रसाद सिंह । (तस्बिर : उज्यालो अभियान)
धनकौल – सर्लाहीको धनकौल गाउँपालिका–५, हरकठवा पासवान बस्तीका अग्नीपीडित परिवारलाई राहत स्वरुप खाद्यान्न लगायत विभिन्न सामग्री प्रदान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति सर्लाही र मधेश प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह, नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंह लगायतबाट आगलागी पीडित परिवारलाई राहत सामग्री उपलब्ध गराईएको हो । आईतबार साँझ प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहितका सुरक्षा अधिकारी र अन्य सरोकारवालाहरुले बस्तीमै पुगेर राहत सामग्री प्रदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी मलंगवा, बागमती सेवा समाज र वर्ल्ड भिजनसँग समन्वय गरेर आगलागी पीडितका लागि ३० थान त्रिपाल, ३० थान कम्बल, एक÷एक बोरा चामल, भाँडाकुँडा, कपडा लगायतका राहत सामग्री प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
त्यस्तै गत शनिबार साँझ नै आगलागी पीडित परिवारलाई नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवं प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह लगायतले त्रिपाल, कम्बल, चामल, दाल, चिउरा, तेल, ग्याँस सिलिण्डर, औषधि लगायत राहत सामग्री प्रदान गरेका थिए । सहोदर दाजुभाई समेत रहेका उनीहरुले अग्नीपीडित परिवारहरुका लागि २५ थान कम्बल, २५ थान त्रिपाल, चामल, दाल, चिउरा, तेल, ग्याँस सिलिण्डर, औषधि सहित प्रति परिवार ५/५ हजार रुपैयाँ पनि प्रदान गरेका छन् । गत शनिबार दिउँसो आगलागीमा परेर धनकौल पासवान बस्तीका १३ वटा घर पूर्णरुपमा जलेको थियो भने एउटा घरमा आंशिक क्षति पुगेको थियो ।