शनिबार होटल सीता प्यालेसमा आयोजित प्रि-म्याच कन्फ्रेन्समा राजर्षि जनक कप फुटबल रनिङ शिल्ड संयुक्त रुपमा उचालेर प्रदर्शन गर्दै मछिन्द्र फुटबल क्लब र पिप्ले युवा क्लबका प्रशिक्षक एवं कप्तान । (तस्बिर : उज्यालो अभियान)
बागमती – सर्लाहीको बागमतीमा जारी छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधिका लागि आईतबार दिउँसो मछिन्द्र फुटबल क्लब काठमाडौं र पिप्ले युवा क्लब हेटौंडा बीच फाईनल भिडन्त हुँदैछ ।
सहिद स्मारक लिग पछिल्लो दुई संस्करणको च्याम्पियन मछिन्द्र पहिलो पटककै सहभागितामा राजर्षिको उपाधि नजिक पुगेको हो भने डिफेण्डिङ च्याम्पियन पिप्लेले दोस्रो पटक पनि उपाधि यात्रामा आफूलाई उभ्याएको छ । निरन्तर दुईपटकको लिग च्याम्पियन मछिन्द्रले चालू सिजनमा नकआउट फुटबल तर्फ भने एउटा पनि क्याप जित्न सकेको छैन । उ पहिलो पटक सहभागी भएको राजर्षि जनक कपको उपाधी चुम्दै नकआउट फुटबलको पहिलो क्याप भित्रयाउन आँतुर छ । डिफेण्डिङ च्याम्पियन पिप्ले भने आफ्नो कब्जामा रहेको राजर्षि रनिङ शिल्ड अरुलाई सुम्पन तयार छैन ।
शनिबार दुवै टिमका प्रशिक्षक र कप्तान सहभागी प्रि–म्याच कन्फ्रेन्समै मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले लिग च्याम्पियन भएपनि आफ्नो क्लबले नकआउट फुटबल प्रतियोगिताको उपाधि चुम्न नपाएको हुँदा राजर्षि जनक कपको रनिङ शिल्ड जसरी पनि उचाल्ने रणनीतिका साथ फाईनल प्रतिष्पर्धामा उत्रने बताए । ‘हामीले चालू सिजनमा नकआउट फुटबल प्रतियोगिताको एउटा पनि क्याप भित्र्याउन पाएका छैनौं’, कटुवालले भने, ‘राजर्षि जनक कप फुटबल प्रतियोगितामा हाम्रो पहिलो सहभागिता हो, पहिलो पटक नै उपाधि नजिक पुगेका छौं, अब फाईनल प्रतिष्पर्धामा जसरी पनि जीत निकाल्दै नकआउट फुटबलको पहिलो क्याप भित्र्याउन चाहन्छौं ।’
नेपालका स्टार राष्ट्रिय खेलाडीहरु विमल घर्ती मगर, सुजल श्रेष्ठ, विशाल राई, देवेन्द्र तामाङ, अभिषेक रिजाल, राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ सहित अफ्रिकन मूलका राम्रा विदेशी खेलाडी समेत मैदानमा उतार्ने मछिन्द्र सशक्त टिम भएकोमा दुईमत छैन । तथापि मछिन्द्रका प्रशिक्षक कटुवाल पिप्ले पनि निकै राम्रो टिम भएको स्विकार्छन् । ‘डिफेण्डिङ च्याम्पियन पिप्ले पनि निकै राम्रो टिम हो, उक्त टिममा अधिकांश ए डिभिजन लिग खेल्ने खेलाडीहरु नै छन्’, प्रशिक्षक कटुवालले भने, ‘विपक्षी पनि निकै राम्रो टिम भएकाले हामी जीतका लागि रणनीतिक ढंगले खेलाडीलाई उच्च मनोवलका साथ मैदानमा उतार्ने छौं ।’ राजर्षि जनक कप फुटबल प्रतियोगितामा सहभागी हुँदा आफूहरुले आगामी अप्रिल ५ तारिखमा श्रीलंकासँग हुन लागेको एएफसी कपको तयारीका रुपमा समेत लिएको प्रशिक्षक कटुवालको भनाई छ ।
यता पिप्लेका प्रशिक्षक सुविन घिमिरे राजर्षि जनक कपको रनिङ शिल्ड आफ्नो पोल्टाबाट कुनैपनि हालतमा फुत्किन नदिने तयारीका साथ फाईनल प्रतिष्पर्धामा मछिन्द्र विरुद्द मैदानमा उत्रने बताउँछन् । ‘हाम्रो कब्जामा रहेको यो शिल्ड हेटौंडाबाट यता ल्याउनै नदिने पक्षमा थियौं तर प्रतियोगितामा प्रदर्शन गर्नै पर्ने भएकाले केही दिनका लागि पठाएका मात्र हौं’, घिमिरेले छेउमै रहेको राजर्षि जनक कपको शिल्ड देखाउँदै भने, ‘गतवर्ष पहिलो सहभागितामै हामीले राजर्षिको उपाधि चुमेका हौं, यो पटक पनि उपाधि अरु कसैलाई सुम्पन चाहन्नौं ।’
पछिल्लो दुई संस्करणको सहिद स्मारक लिग च्याम्पियन र स्टार राष्ट्रिय खेलाडीले सुसज्जित मछिन्द्र सशक्त टिम भएकाले आफूहरु पनि राजर्षिको उपाधि दोस्रो पटक चुम्ने तयारीका साथ खेलाडीलाई मैदानमा उतार्ने पिप्लेका प्रशिक्षक घिमिरेको भनाई थियो । ‘स्वभाविक रुपमा स्टार राष्ट्रिय खेलाडीहरु रहेको लिग च्याम्पियन मछिन्द्र निकै बलियो टिम हो’, घिमिरेले भने, ‘हाम्रा केटाहरु पनि यस्ता प्रतियोगिता खेल्दै आईरहेका अनुभवी र जतिसुकै बलियो टिम भएपनि जीत निकाल्नका लागि मरिमेटेर खेल्ने खालका छन् ।’
मच्छिन्द्रका कप्तान सुजल श्रेष्ठले पहिलोपटक सहभागी राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधी चुम्दै यो सिजनकै पहिलो नकआउट क्याप भित्र्याएरै छाड्ने दाबी गरे भने डिफेण्डिङ च्याम्पियन पिप्लेका कप्तान अमिर श्रेष्ठले लिग विजेता विपक्षीसँग खेल्दा केही दबाव महसुस हुने भएपनि जीत निकाल्दै उपाधि रक्षा गरेरै छाड्ने आफूहरुको योजना रहेको बताए ।
डिफेण्डिङ च्याम्पियन पिप्ले युवा क्लब हिमालयन शेर्पा क्लब काठमाडौंलाई निर्धारित समयमा ३–० गोलले र आयोजक बागमती युवा क्लबलाई ट्राईबेकरमा हराउँदै फाईनल पुगेको हो भने पहिलोपटक राजर्षिमा सहभागी लिग च्याम्पियन मछिन्द्र सशक्त विदेशी टोली एभिनिर फुटबल क्लब क्यामरुनलाई सडनडेथ र राजर्षिको दोस्रो संस्करण विजेता सुदूरपश्चिम–११, धनगडीलाई निर्धारित समयमा ३–१ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो । फाईनल यात्रा तय गरेर दोस्रो पुरस्कार नगद ५ लाख ५०० रुपैंया सुनिश्चित गरिसकेका दुई टिमले प्रथम उपाधी चुम्दै नगद १० लाख १ हजार आफैले हत्याउने दाबी गरेका छन् । यद्यपि प्रथम उपाधि कसको पोल्टामा जाने हो भन्ने थाहा पाउन चाँहि फाईनल खेलको निर्धारित समय र त्यसमा पनि बराबरी भए ट्राईबेकर हुँदै सडनडेथसम्म कुर्नुको विकल्प छैन ।
त्यस्तै दुवै टिमका प्रशिक्षक र कप्तानले राजर्षि जनक कप फुटबल प्रतियोगिताका आयोजकबाट अत्यन्त राम्रो व्यवहार पाएको बताए । मोफसलको प्रतिष्ठित प्रतियोगिताको आयोजक बागमती युवा क्लबबाट आफूहरुले पनि धेरै कुरा सिक्न पाएको उनिहरुको भनाई थियो । शनिबार सीता प्यालेस होटलमा भएको पत्रकार सम्मेलनमा प्रतियोगिताका म्याच कमिस्नर दिपक लामाले अहिलेसम्म प्रतियोगिता सफल रुपले सम्पन्न गर्नका लागि सहभागी हुने टिम अनि सहयोगी सम्पूर्ण तह र तप्काप्रति आभार प्रकट गर्दै फाईनल खेल पनि सभ्य र भव्य रुपमा सफल पार्नका लागि सम्पूर्णमा आग्रह गरे ।
प्रतियोगिताको उपाधिका लागि आज (आइतबार) अपरान्ह ३ बजे बागमती स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा फाईनल खेल हुने आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए । प्रधानका अनुसार विजेता र उपविजेता टिम तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण समेत गर्नुपर्ने भएकाले आईतबार दिउँसो ३ बजेबाटै फाईनल खेल सूरु हुनेछ ।
चैत २ गतेबाट सूरु भएको प्रतियोगितामा आयोजक बागमती युवा क्लब र विदेशी १ सहित १२ वटा टिमले सहभागिता जनाएका थिए । जसमा फाईनल पुग्ने मछिन्द्र र पिप्ले बाहेक नेपाल पुलिस क्लब काठमाडौं, सशस्त्र प्रहरीको एपिएफ क्लब, हिमालयन शेर्पा क्लब काठमाडौं, न्यूरोड टिम (एनआरटी) काठमाडौं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन, आयोजक बागमती युवा क्लब रहेका छन् ।
बागमती युवा क्लब र बागमती नगरपालिकाको संयुक्त आयोजना रहेको प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।