logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

म्यादीका लागि साँढे १० हजार बढीको आवेदन


  • उज्यालो अभियान

म्यादी प्रहरीका लागि सदरमुकाम मलंगवामा आवेदन दिन लागेको भीड । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा म्यादी प्रहरीका लागि दश हजार ५६५ जनाको आवेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाले माग गरेको भन्दा तेब्बर बढीले म्यादी प्रहरीका लागि आवेदन परेको हो । जिल्ला प्रहरी कार्यालयले स्थानीय तह निर्वाचन २०७९ का लागि सर्लाहीमा तीन हजार ८८ जना म्यादी प्रहरी माग गरेको थियो । तर आवेदन खुलेको पहिलो दिन गत आईतबार देखि अन्तिम दिन शुक्रबार सम्म १० हजार पाँच सय ६५ जनाको आवेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक एवं म्यादी प्रहरी भर्ना छनौट उपसमितिका सदस्य कृष्ण गिरीका अनुसार १० हजार ५६५ आवेदक मध्ये ९४६ जना महिला समेत रहेका छन् । छोटो अवधिका लागि भएपनि रोजगारी पाईने भएकाले म्यादी प्रहरीका लागि हरेक पटक सर्लाहीमा माग गरेको संख्या भन्दा ३ देखि ४ गुणा बढीले आवेदन पर्ने गरेको छ ।

म्यादी प्रहरीका आवेदकलाई चैत १३ गते सम्पर्क मिति तोकिएको छ भने चैत १५ देखि २२ गतेसम्ममा छनौट गरिने छ । छनौट भएकालाई चैत २८ गतेदेखि प्रशिक्षण दिएर म्यादी प्रहरीको रुपमा स्थानीय तहको निर्वाचनमा खटाइने प्रहरी निरीक्षक गिरीले जानकारी दिए । म्यादी प्रहरीले ४० दिन कार्य अवधिमा तलब ३० हजार २४० रुपैंया, खाना तथा खाजा ७ हजार २०० रुपैंया र पोसाक बापत ६ हजार रुपैंया पाउने छन् ।

फोटो क्याप्सन : सदरमुकाम मलंगवामा म्यादी प्रहरीमा आवेदन दिनेहरुको भिड । (तस्बिर : उज्यालो अभियान)