ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका कार्यालयको नवनिर्मित कार्यालय भवनको औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
गत भदौ १ गतेबाट भवन प्रयोग गर्न थालिएको भएपनि शुक्रबार एक कार्यक्रमका बीच औपचारिक रुपमा उद्घाटन गरिएको हो । ईश्वरपुर नगरपालिका वडा नं. ७ मा करिव ३ करोड ६२ लाख रुपैयाँ लागतमा निर्माण भएको ४ तले कार्यालय भवनको मेयर मनोज कुमार देवकोटा र उपमेयर एकाबती देवी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
भवन उद्घाटनको अवसरमा नगरपालिका कार्यालयले भवन निर्माण गर्न जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई कदर पत्रसहित सम्मान समेत गरेको छ । नगरपालिकाको भवन निर्माणका लागि विभिन्न व्यक्तिहरुले १० कठ्ठा ५ धुर जग्गा प्रदान गरेका थिए । ईश्वरपुर नगरपालिका-६ स्थित मुख्य बजारमा रहेको नगरपालिकाको पुरानो भवन अत्यन्तै साँघुरो रहेकाले ८ महिनाअघि निर्माणाधीन भवनमा सामान्य पूजापाठ गरेर कार्यालय त्यहीँ सारिएको थियो ।