logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनलाई क्षयरोगमुक्त बनाउन प्रभातफेरि र अन्तर्क्रिया


  • उज्यालो अभियान

हरिवन नगरपालिकाले आयाेजना गरेकाे अन्तर्क्रियामा सहभागिहरु । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – विश्व क्षयरोग विरुद्धको दिवसका अवसरमा ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ विहिबार जिल्लाका विभिन्न पालिकाहरुमा विविध कार्यक्रम गरी मनाईएको छ ।

यसै क्रममा हरिवन नगरपालिकाले पनि वृहद् कार्यक्रम गरेको छ । समुदायमा क्षयरोग सम्बन्धि जनचेतना फैलाउने र सन् १८८२ मार्च २४ का दिन जर्मन वैज्ञानिक रोबर्ट कोकले माईक्रो व्याक्टेरियम ट्युवर कुलोसिस नामको सूक्ष्म किटाणुका कारण सर्दछ भन्ने पत्ता लगाएको योगदानको सम्झनामा विहिबार १४० औँ मधेश प्रदेश स्तरीय विश्व क्षयरोग दिवस कार्यक्रम हरिवन नगरपालिका परिसरमा सम्पन्न गरिएको हो । हरिवन नगरपालिका, स्वास्थ्य निर्देशनालय मधेश प्रदेश र स्वास्थ्य कार्यालय सर्लाहीको संयुक्त आयोजना तथा सेभ द चिल्ड्रेन, बागमती सेवा समाज नेपाल, नेपाल क्षयरोग निवारण संस्था सर्लाही शाखा र सन्तोष सेवा केन्द्र हरिवनको साझेदारीमा भएको कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाईको अध्यक्षता तथा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय कुमार झाको प्रमुख आतिथ्यता रहेको थियो ।

हरिवनस्थित सगुन सहकारी संस्थाको प्रांगणदेखि विभिन्न प्ले कार्ड, ब्यानर र नारा लगाउँदै सुरु गरिएको प्रभात फेरी नगरपालिकाको सभा हलमा पुगेर कोण सभामा परिणत भई केहीबेर पत्रकारहरुसँग यस विषयमा अन्र्तक्रिया पनि गरिएको थियो । प्रभातफेरिमा हरिवन स्थित विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, नेपाल स्काउटका स्काउटर लगायतको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमकै बिच क्षयरोगको क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत सासापुर स्वास्थ्य चौकी र साझेदार संस्था बागमती सेवा समाज हरिवनलाई खादा र प्रमाणपत्र सहित हरिवन नगरपालिकाका प्रमुख प्रसाई र स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक झाले सम्मान गरेका थिए । कार्यक्रममा आपूर्ति स्वास्थ्य व्यवस्थापन केन्द्र मधेश प्रदेशका प्रतिनिधि, हरिवनकी उपप्रमुख रेणुका पौडेल, प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र श्रेष्ठ, स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झा, उपसचिव नवराज निरौला, वडाध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधिहरु, साझेदार संस्थाका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिती रहेको नगरपालिका कार्यालयले जनाएको छ ।

हरिवनले नगरपालिकालाई क्षयरोगमुक्त बनाउन अभियान नै सूरु गरेको छ । मधेश प्रदेशका सर्लाहीको हरिवन, बाराको निजगढ नगरपालिका र महोत्तरीको एक पालिकालाई क्षयरोगमुक्त बनाउने गरी अभियानहरु सञ्चालन भईरहेको बताईएको छ । त्यस्तै विहिबार क्षयरोग विरुद्धको दिवसका अवसरमा जिल्लाका लालबन्दी, हरिपुर लगायत विभिन्न पालिकामा जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

फोटो क्याप्सन : प्रभातफेरि हरिवन नगरपालिका कार्यालय अगाडि पुगेपछि स्काउटर, विभिन्न भेषभूषामा सजिएका विद्यार्थी, शिक्षक, नगरपालिकाका प्रमुख एवं कर्मचारी र सुरक्षा अधिकृत सहित कार्यक्रमका सहभागिहरु । (तस्बिर : उज्यालो अभियान)