बागमती – छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत विहिबार भएको पहिलो सेमिफाईनल खेलमा पिप्ले युवा क्लब हेटौंडाले आयोजक बागमती युवा क्लबलाई ट्राईबेकरमा ४-२ गोलले पराजित गरेको छ । जीतसँगै पाँचौं संस्करणको समेत विजेता डिफेण्डिङ च्यम्पियन पिप्ले छैठौं राजर्षि जनक कपको उपाधी नजिक पुगेको मात्र छैन लगातार दोस्रो पटक उपाधी चुम्ने हकदारको रुपमा समेत आफूलाई उभ्याएको छ ।
निर्धारित समय गोलरहित बराबरी भएपछि नतिजाका लागि खेल ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा बागमतीका सूरुकै दुई खेलाडीले प्रहार गरेको बल गोल हुन नसकेपछि पिप्ले भाग्यमानी सावित हुन पुग्यो । बागमतीका जर्सी नम्बर ५ का अमर श्रेष्ठले प्रहार गरेको बल पिप्लेका गोलरक्षक अनिश देउजाले उत्कृष्ट बचाउ गरे भने लगतै जर्सी नम्बर ८ श्याम घलानले प्रहार गरेको बल पनि गोलपोष्ट बाहिर गयो । बागमतीका जर्सी नम्बर ४ का आयुष राना मगर र जर्सी नम्बर ७ का अनिल राना मगरले मात्र गोल गरे ।
पिप्लेको तर्फबाट भने ४ जना क्रमशः जर्सी नम्बर ३ का अशोक खनाल, जर्सी नम्बर १० का रितिक खड्का, जर्सी नम्बर ५ का कुलदिप कार्की र अफ्रिकन खेलाडी जर्सी नम्बर ९ का मार्टिनले सहजै गोल गरे । बागमतीका दुईजना खेलाडीले गोल गर्न नसकेपछि पिप्लेका ४ जना खेलाडीले मात्र गोल गर्ने वितिकै रेफ्रिले पिप्लेलाई विजयी घोषणा गर्दै लामो हुसिल बजाए । फाईनल खेलमा आयोजक बागमतीलाई हराउँदै राजर्षि पाचौं संस्करणको उपाधी चुमेको पिप्लेले छैठौं संस्करणमा भने सेमिफाईनलमै पाखा लगायो । विहिबारको खेलमा पिप्ले युवा क्लबका गोलकिपर जर्सी नम्बर १९ का अनिश देउजाले म्यान अफ दि म्याच घोष्ति हुँदै नगद १० हजार रुपैंया हात पारे ।
अब पिप्लेले शुक्रबार मछिन्द्र फुटबल क्लब र सुदूरपश्चिम–११ बीच हुने दोस्रो सेमिफाईनल खेलको विजयी टिमसँग आगामी चैत १३ गते आईतबार राजर्षि जनक कपको उपाधीका लागि भिड्नु पर्नेछ । लगातार दोस्रो पटक राजर्षि जनक कपको उपाधी चुम्नका लागि पिप्लेले भ्याएसम्मको जोडबल लगाउने निश्चित नै छ ।
निर्धारित समयमा दुवै टिमका खेलाडीले पटक–पटक राम्रा अवसरहरु खेर फालेका थिए भने दुवै टिमको गोलरक्षकले विपक्षी खेलाडीको सशक्त प्रहारलाई उत्कृष्ट बचाउ समेत गरेका थिए । खेल अवधीभर बागमतीमाथि पिप्ले युवा क्लबका खेलाडी केही हाबी नै देखिएका थिए ।
मंगलबारदेखि विहिबारसम्म निरन्तर तीनदिन त्यो पनि रातविरात गाडीको यात्रा सहित नेपालका एक से एक क्लबसँग भिड्नुपर्दा थकित बनेका भएपनि बागमतीका खेलाडीले खेल अवधीभर भने पिप्लेका खेलाडीसँग भयाएसम्मको जोडबलले टक्कर दिएका थिए । गत मंगलबार मात्र आफैले आयोजना गरेको राजर्षि जनक कपको क्वाटरफाईनलमा एनआरटीलाई हराउँदै सेमिफाईनल प्रवेश गरेको बागमती टिम बुधबार बिहान ३ बजे सर्लाहीबाट दमकतर्फ गएको थियो । बुधबार दिउँसो दमकमा आयोजकलाई हराएपछि साँझ नै हिँडेको बागमती टिम विहिबार बिहानै सर्लाही आईपुगेको हो । विहिबार बिहान आईपुगेका खेलाडीले दिउँसो पुनः मैदानमा उत्रनु परेको थियो । निरन्तरको खेल अनि रातविरातको यात्राका कारण पनि विहिबारको खेलमा पिप्ले विरुद्ध बागमतीका खेलाडीले अपेक्षित खेल प्रस्तुत गर्न सकेनन् । शारिरिक रुपमा अत्यन्तै थकित भएका बागमतीका खेलाडीलाई आफ्नै फिल्डमा दर्शकहरुकाे हुटिङ अनि बाजागाजा सहितकाे प्राेत्साहनले केही उर्जा भने थपेकाे थियाे ।
प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम (एनआरटी) काठमाडौं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।
जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग, केबीए ग्लोबल बीएफसी चितवन एनआरटीसँग, एपीएफ क्लब एभिनिर फुटबल क्लब क्यामरुनसँग, हिमालयन शेर्पा क्लब काठमाडौं पिप्ले युवा क्लब हेटौंडासँग, नेपाल पुलिस क्लब सुदूरपश्चिम–११, धनगढीसँग, एनआरटी क्लब आयोजक बागमती युवा क्लबसँग, एभिनिर फुटबल क्लब क्यामरुन मछिन्द्र फुटबल क्लबसँग र आयोजक बागमती पिप्ले युवा क्लब हेटौंडासँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका म्याच कमिस्नर दिपक लामाले जानकारी दिए ।
त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल चैत १३ गते हुनेछ ।
फोटो क्याप्सन : बुधबारको खेलमा आयोजक बागमती युवा क्लबलाई हराएको पिप्ले युवा क्लब हेटौंडाका खेलाडीहरु । (तस्बिर : उज्यालो अभियान)