हरिवन – झापाकाे दमकमा आयाेजित दमक गाेल्डकप फुटबल प्रतियाेगितामा सर्लाहीकाे बागमती युवा क्लबले सुखद् सुरूवात गरेकाे छ । बुधबार भएकाे प्रि-क्वाटरफाईनल खेलमा आयाेजक दमक-११ लाई १-० गाेलले पराजित गर्दै बागमती प्रतियाेगिताकाे क्वाटरफाईनल प्रवेश गरेकाे छ ।
दमकका खेलाडीले फल गरेपछि पाएकाे पेनाल्टी अवसरलाई अमर राना मगरले सहजै गाेलमा परिणत गर्दै बागमतीकाे जीतका लागि निर्णायक गाेल गरे । अब बागमतीले भाेली शुक्रबार मनाङमर्स्याङ्दी फुटबल क्लबसँग भिड्नु पर्नेछ । अस्ति मंगलबार मात्र आफैले आयाेजना गरेकाे राजर्षि जनक कपकाे क्वाटरफाईनलमा एनआरटीलाई हराउँदै सेमिफाईनल प्रवेश गरेकाे थियाे । मंगलबार दिउँसाे एनआरटीलाई हराएकाे बागमतीका खेलाडी बुधबार बिहान ३ बजे सर्लाहीबाट दमकतर्फ गएका थिए । दमकमा आयाेजकलाई हराएपछि बुधबार साँझ नै हिँडेकाे बागमती टिम विहिबार बिहानै सर्लाही आईपुगेकाे छ ।
आज विहिबार दिउँसाे राजर्षि जनक कपकाे डिफेण्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटाैंडासँग पहिलाे सेमिफाईनल खेल खेल्ने बागमतीका खेलाडी भाेली शुक्रबार भने दुईतिर बाँडिनु पर्नेछ । उसले झापाकाे दमकमा मनाङसँग तथा सिमरा गाेल्डकप फुटबल प्रतियाेगितामा केबीए ग्लोबल बीएफसी चितवनसँग खेल्नु पर्नेछ ।
मंगलबारदेखि शुक्रबारसम्म निरन्तर चारदिन त्याे पनि रातविरात गाडीकाे यात्रा सहित नेपालका एक से एक क्लबसँग भिड्नुपर्दा बागमतीका खेलाडीले कति थेग्न सक्लान् भन्ने प्रश्न पनि उब्जिएकाे छ । बागमती युवा क्लबका सचिब कुमार प्रधानले स्थानीय बढिभन्दाबढि तथा बाहिरबाट समेत खेलाडीहरु मगाएर भएपनि म्यानेज गर्ने प्रयास भईरहेकाे बताए । ´यात्रा सहित निरन्तर खेल्नुपर्दा खेलाडी थकित हुन्छन् नै, तथापि खेलहरु नै त्यस्तै परेपछि खेल्नै पराे, भरसक अन्य खेलाडी मगाएर टिम बाँडफाँड गरिरहेका छाैं ।` सचिब प्रधानले भने ।
मधेश प्रदेशकै प्रतिष्ठित राजर्षि जनक कप फुटबल प्रतियाेगिता निरन्तर आयाेजना गर्दै छैठाैं संस्करण पुर्याईसकेकाे बागमती युवा क्लब माेफसलमा आफूलाई दरिलाे गरि चिनाउने यात्रामा अगाडि बढिरहेकाे छ । उसले केहीदिन अघि सम्पन्न खप्तड गाेल्डकप धनगडीमा नेपाल लिगकाे पछिल्लाे दुई संस्करणकाे च्याम्पियन मछिन्द्र फुटबल क्लब तथा ए डिभिजन लिग खेल्ने एनआरटीलाई समेत हराएर माेफसलकाे बागमती युवा क्लबले सनसनी मच्चाएकाे थियाे । राेजित केसीकाे प्रशिक्षणमा बागमती टिम दिनरात देशदाैडाहामा निस्केकाे छ ।
फाेटाे क्याप्सन : बुधबार झापाकाे दमक गाेल्डकप फुटबल प्रतियाेगितामा दमक-११ लाई हराएकाे बागमती युवा क्लबकाे टिम । (तस्बिर : सामाजिक संजाल)