मलंगवा – लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित ट्याब्लेट सहित हरिवनका एक युवक सदरमुकाम मलंगवाबाट पक्राउ परेका छन् । भारतबाट लुकाईछिपाई उक्त ट्याब्लेट ल्याउँदै गर्दा ती युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।
हरिवन नगरपालिका–११ निवासी मंगले मोक्तानका छोरा २४ वर्षीय रोहित लामालाई प्रहरी टोलीले मंगलबार दिउँसो मलंगवाबाट पक्राउ गरेको हो । मलंगवा नगरपालिका–८ स्थित प्रहरी चौकी गोरखकाली अगाडी खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री रोहितको साथबाट लागूऔषधको रुपमा प्रयोग हुने नेपालमा प्रतिबन्धित नाईट्राभेट नामक २७ पिस ट्याब्लेट बरामद् भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई थूनामा राखी लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कार्बाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।