बागमती – छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत नेपालकाे ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र अफ्रिकन खेलाडीहरु मात्र रहेकाे एभिनिर फुटबल क्लब क्यामरुनबीचकाे खेल सूरु भएकाे छ ।
आज (बुधबार) दिउँसाे ४ बजेर ११ मिनेटमा दुई टिमबीचकाे खेल सूरु भएकाे आयाेजक बागमती युवा क्लबका म्याच कमिस्नर दिपक लामाले जानकारी दिए । ए डिभिजन लिग अन्तर्गत पछिल्ला दुई संस्करणकै च्याम्पियन मछिन्द्रले राष्ट्रिय टिमका खेलाडीहरु सुजल श्रेष्ठ, विमल घर्ती मगर, अभिषेक रिजाल, विशाल राई, राष्ट्रिय गाेलकिपर विशाल श्रेष्ठ जस्ता नेपालका स्टार खेलाडी तथा दुईजना अफ्रिकन खेलाडीलाई समेत मैदानमा उतारेकाे छ भने एभिनिरले अफ्रिकन खेलाडीहरु मात्र मैदानमा उतारेकाे छ ।मछिन्द्रका खेलाडीका तुलनामा एभिनिरका खेलाडीहरु शारिरिक रुपमा अग्ला र बलिया देखिएका छन् । यद्यपि नेपालका एक से एक राष्ट्रिय खेलाडी मैदानमा उतारेकाे मछिन्द्र र एभिनिरबीचकाे खेल निकै प्रतिष्पर्धात्मक हुने देखिन्छ ।
यसअघि प्रि-क्वाटरफाईनल खेलमा सशस्त्र प्रहरी बलकाे नेपाल एपीएफ क्लब जस्ताे बलियाे टिमलाई पन्छाउँदै क्वाटरफाईनल यात्रा तय गरेकाे एभिनिर फुटबल क्लब क्यामरुन र सिधै बाईमा परेकाे मछिन्द्र बुधबार पहिलाेपटक आमनेसामने भएका हुन् । कतिपय दर्शकले भने आजकाे विजेताले नै जारी राजर्षि जनक कप छैठाैं संस्करणकाे उपाधी चुम्ने अड्कलबाजी गरिरहेका छन् । लगातार दुईसातादेखि बागमतीमै आफ्ना खेलाडीलाई राखेर स्थानीय वातावरण, खेलमैदान अनि दर्शकसँग घुलमिलका साथ अभ्यास गराईरहेकाे एभिनिरले लिग च्याम्पियन मछिन्द्रलाई कडा चुनाैती पेश गर्ने निश्चित छ । यद्यपी खेलमा कसले बाजि मार्ने हाे भन्ने थाहापाउन त निर्धारित खेल समय र त्यसमा पनि बराबरी भए ट्राईबेकरसम्म त कुर्नै पर्नेछ ।
फाेटाे क्याप्सन : खेल सूरु हुनुअघि मैदानमा मछिन्द्र र एभिनिरका खेलाडी एवं खेलका निर्णायक टाेली । (तस्बिर : उज्यालाे अभियान)