बागमती – छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तरगत मंगलबार भएकाे तेस्राे क्वाटरफाईनल खेलमा आयोजक बागमती युवा क्लव एनआरटी क्लब काठमाडाैलाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ ।
ए डिभिजन लिग खेल्ने एनआरटीलाई १-० गाेलले पराजित गर्दै माेफसलकाे बागमती अन्तिम ४ स्थानमा पुगेकाे हाे । बागमती नगरपालिका-११, स्थित स्व. सन्तोष श्रेष्ठ स्मृती खेलमैदानमा सम्पन्न खेलकाे ८६ औँ मिनेटमा बागमतीका लागि जोमोल एन्थोनीले निर्णायक गोल गरे । एनआरटीका रक्षापंक्तिका खेलाडीले गरेकाे गल्तीकाे फाईदा उठाउँदै जाेमाेलले गाेल गरेका हुन् । रक्षापंक्तिका खेलाडीले आफ्नै डिबक्स छेउमा बललाई अगाडिकाे साटाे गाेलकिपरतर्फै पास खेल्न खाेज्दा उक्त बललाई नियन्त्रणमा लिँदै जाेमाेलले सहजै एनआरटीकाे गाेलपाेष्टमा जाली चुमाए । बागमतीकाे जीतका लागि निर्णायक गाेल गर्ने जाेमाेललाई म्यान अफ दि म्याच घाेषित गर्दै नगद १० हजार प्रदान गरियाे ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टिमका खेलाडीले निकै राम्रा अवसरलाई सदुपयाेग गर्न नसक्दा गाेल गर्नबाट चुकिरहे । चालु सिजनमा यी दुई टिम दाेस्राे पटक आमनेसामने भएका हुन् । तर दुवै खेलमा बागमतीले बाजि मार्न सफल भएकाे छ । केही दिनअघि धनगडीमा सम्पन्न खप्तड गाेल्डकपमा पनि बागमतीले एनआरटीलाई ट्राईबेकरमा पराजित गरेकाे थियाे । मंगलबारको खेलमा जसरी पनि जित्दै खप्तडमा ब्यहाेरेकाे हारकाे बदला भएको हारको बदला लिने एनआरटीकाे चाहना पूरा हुन सकेन । बागमतीले खेलमा जसरी पनि जीत्नका लागि ब्रुनाईबाट ३ खेलाडी मगाएकाे थियाे । अन्तिम समयमा त्यहाँका खेलाडी आउन नसकेपछि नेपालमै ए डिभिजन लिग खेलिरहेका मध्ये राम्रा ३ जना अफ्रिकन खेलाडीलाई मैदानमा उतारेकाे थियाे । दर्शकहरुले पनि आफ्नाे पक्षमा निरन्तर हुटिङ गर्दा बागमतीका खेलाडीले उच्च मनाेबलका साथ खेलेका थिए ।
अर्काकाे मैदानमा जीतिसकेकाे टिममाथि घरेलु मैदानमा भने खेलाडीले आफ्नाे पक्षमा नतिजा ल्याउने हुन कि हैनन् भनेर खेल अवधि भर बागमतीका प्रशिक्षक रोजित केसी तनावमा देखिएका थिए । पटक-पटक ´एग्रेसिभ` हुँदै खेलाडीलाई त कहिले फलकाे विषयमा अम्पाएरप्रति आक्राेस पाेखिरहेका प्रशिक्षक केसीलाई रेफ्रि प्रज्वल क्षेत्रीले पहेँलाे कार्ड देखाउँदै सचेत गराए ।
अब बागमतीकाे भेट चैत १० गते हुने पहिलाे सेमिफाईनल खेलमा डिफेन्डिङ च्याम्पियन पिप्ले युवा क्लव सगँ हुनेछ । बुधबार दिउँसाे ए डिभिजन लिग विजेता मछिन्द्र युवा क्लब र क्यामरुनकाे एभिनिर फुटबल क्लबबीच खेल हुने म्याच कमिस्नर दिपक लामाले जानकारी दिए ।
प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम (एनआरटी) काठमाडाैं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।
जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग, केबीए ग्लोबल बीएफसी चितवन एनआरटीसँग, एपीएफ क्लब एभिनिर फुटबल क्लब क्यामरुनसँग, हिमालयन शेर्पा क्लब काठमाडाैं पिप्ले युवा क्लब हेटाैंडासँग, नेपाल पुलिस क्लब सुदूरपश्चिम-११, धनगढीसँग र एनआरटी क्लब आयाेजक बागमती युवा क्लबसँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । प्रतियाेगिताकाे फाईनल खेल चैत १३ गते हुनेछ ।
फाेटाे क्याप्सन : वीजयी बागमती युवा क्लबका खेलाडीहरु । (तस्बिर : उज्यालाे अभियान)