प्रतिकात्मक तस्बिर
मलंगवा – सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा साँढे २ लाख रुपैया बराबरको धनमाल क्षति भएको छ ।
बरहथवा नगरपालिका–१, नयाँ बजार निवासी बिन्देश्वर महत्तोको एक तले काठले बनेको टालिको छाना भएको घरमा आगलागी हुँदा नगद ३० हजार रुपैंया समेत जलेर नष्ट भएको छ । मंगलबार दिउँसो साँढे १ बजे भएको आगलागीबाट घरभित्र रहेको लत्ता कपडा, टिनको बाकस ३ थान, काठको पलंगमा आंसिक क्षति सहित नगद समेत जलेको हुँदा एकलाख रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मंगलबार दिउँसो साँढे ३ बजे कौडेना गाउँपालिका–७ शिवनगर निवासी मो. अहियाको फुसको घर र नजिकै राखिएको परालको टालमा अचानक आगलागी हुँदा डेढ लाख रुपैंया बराबरको क्षति भएको छ । परालको टालबाट सरेको आगोले अहियाको फुसको घर र घरभित्र रहेका सम्पूर्ण सामानहरु पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । दुवै आगलागीका घटनामा स्थानीय बासिन्दा र स्थानीय सुरक्षाकर्मीको सकृयताका कारण थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।