मलंगवा – सर्लाहीकाे हरिवन निवासी व्यवसायी अर्जुन भन्ने सिद्दी बहादुर रायमाझीलाई गोली हान्न भारतीय सुटरलाई ´सुपारी` दिएको आराेप लागेका बागमती नगरपालिकाका लेखा अधिकृत विश्वराज पाेखरेल विरुद्द जिल्ला प्रहरी कार्यालय मलंगवाले मुद्दा प्रकृया अगाडि बढाएकाे छ ।
साेमबार सर्लाही जिल्ला अदालतबाट पहिलाेपटक ५ दिने म्याद लिएर पाेखरेललाई हिरासतमै राखी अनुसन्धान सूरु गरिएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । अभियुक्त पाेखरेललाई गत आईतबार दिउँसाे ४ बजे म्याग्दीकाे रघुगंगा गापा-१ तिप्ल्याङबाट त्यहाँकाे प्रहरीले पक्राउ गरि साेमबार बिहान सर्लाही प्रहरीकाे जिम्मा लगाएकाे थियाे ।
व्यवसायी रायमाझीकाे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय मलंगवाले पक्राउ वारेण्ट माग गरेपछि गत पुस २२ गते जिल्ला अदालतले लेखा अधिकृत पाेखरेल विरुद्द पक्राउ पूर्जी जारी गरेकाे प्रहरीले जनाएकाे छ । अदालतकाे पक्राउ पूर्जी जारी भएलगतै फरार लेखा अधिकृत पाेखरेलले यसबीचमा १५ वटा भन्दा बढी विभिन्न नम्बरका सिम र फरक-फरक माेबाईल सेट प्रयाेग गरेकाले सूचना प्रविधी मार्फत पक्राउ गर्न ढिलाई भएकाे प्रउ प्रसाईंले जानकारी दिए ।
प्रहरी स्राेतका अनुसार जाहेरीकर्ता रायमाझीले गाेली हान्न आएका भारतीय सुटरसँगकाे कुराकानी, रायमाझीलाई गाेली हान्न उनकाे घर आसपास भारतीय सुटरहरुकाे ´रेकी`काे दृष्य, लेखा अधिकृत पाेखरेलले गाेप्य याेजना बनाउने क्रममा माेबाईलमा भएका कुराकानी समेत जिल्ला प्रहरी कार्यालय मलंगवामा बुझाएका छन् ।
फाेटाे क्याप्सन : जिल्ला प्रहरी कार्यालय मलंगवाकाे हिरासतमा रहेका अभियुक्त लेखा अधिकृत विश्वराज पाेखरेल (मास्क लगाएका) । (तस्बिर स्राेत : जिल्ला प्रहरी कार्यालय मलंगवा)