बागमती – सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएकाे खेलमा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब अफ्रिकन एभिनिर फुटबल क्लब क्यामरुनसँग ट्राईबेकरमा पराजित भएकाे छ । ९० मिनेटकाे निर्धारित समय १-१ गाेलले बराबरी भएपछि साँझ परेका कारण थप समय समेत नखेलाई नतिजाका लागि खेललाई सिधै ट्राईबेकरमा लगिएकाे हाे ।
ट्राईबेकरमा क्यामरुनी क्लब एभिनिरले एपीएफलाई ४-२ गाेलले पराजित गर्याे । क्यामरुनका जर्सी नम्बर ४ का मार्सेल, २६ का केनी, ६ का टाेवेट र ११ का मार्टिनले गाेल गरे । क्यामरुनका कप्तान जर्सी नम्बर १० का राेनीले प्रहार गरेकाे बल भने एपीएफका जापनिज गाेलकिपर कुरयामाले ब्लक गरे ।
यता एपीएफकाे तर्फबाट भने कप्तान जर्सी नम्बर ११ का नवीन लामा र जर्सी नम्बर ३४ का दिपेश धिमालले मात्र गाेल गर्न सके । एपीएफका जर्सी नम्बर १९ का आवास लामिछाने र १८ का रवि थिङले प्रहार गरेकाे बल क्यामरुनका गाेलकिपर जर्सी नम्बर २४ का राेड्रिग्भेले उत्कृष्ट बचाउ गरे । आफ्ना दुई खेलाडीले प्रहार गरेकाे बल क्यामरुनी गाेलकिपरले राेकेपछि एपीएफ ट्राईबेकरमा नतिजा सुम्पन बाध्य भयाे ।
त्यसअघि निर्धारित समयकाे ३८आै मिनेटमा क्यामरुनका कप्तान जर्सी नम्बर १० का राेनीले १ गाेल गर्दै आफ्नाे टिमलाई अग्रता दिलाएका थिए । जर्सी नम्बर ११ का मार्टीनले डिबक्सभित्र दिएकाे बललाई सशक्त प्रहार गर्दै राेनीले खेललाई १-० मा पुर्याएका हुन् ।
तर खेलकाे ८२आै मिनेटमा एपीएफका जर्सी नम्बर ८ का सविन गुरुङले क्यामरुनका गाेलकिपर अगाडि बढ्दा उनलाई बिट गर्दै खेललाई बराबरीमा पुर्याए । जर्सी नम्बर २ का विश्वास उदासकाे क्रसपासमा गुरुङले गाेल गरेका हुन् । निर्धारित समयमा दुवै टिमका खेलाडीबीच गाेल थप्न निकै घम्साघम्सी परेकाे थियाे । ४ मिनेटकाे ईन्जुरी टाईम पनि गाेलरहित हुँदा नतिजाका लागि खेल ट्राईबेकरमा पुग्याे ।
खेल सूरु भएकाे १९आैं मिनेटमा मात्र सब्सिच्युट गाेलकिपरकाे रुपमा क्यामरुनका राेड्रिग्भे मैदानमा छिरेका थिए । त्यतिञ्जेल क्यामरुनले अफिसियलका रुपमा आएका एलिनलाई गाेलकिपरमा राखेकाे थियाे । काठमाडाैंबाट सिमरा आउने फ्लाईट अन्तिम समयमा क्यान्सिल भएपछि राेड्रिग्भे अपर्झट जनकपुरतर्फकाे फ्लाईट हुँदै बागमती आईपुगेर १९आैं मिनेटमा मैदान छिरेका हुन् । एपीएफका खेलाडीलाई पहिले मैदानमा उत्रिएका क्यामरुनका गाेलकिपर अफिसियल हुन् भन्ने थाहा हुन नसक्दा गाेलपाेष्ट आक्रमण गर्नबाट चुक्याे । यदि उक्त समयमा एपीएफका खेलाडीले क्यामरुनकाे गाेलपाेष्टमा एकपछि अर्काे सशक्त प्रहारहरु गरेकाे भए खेलकाे नतिजा अर्कै पनि हुन सक्ने सम्भावना रहेकाे आयाेजक बागमती युवा क्लबका एक पदाधिकारीले दाबी गरे ।
खेलकाे अन्तिम समयमा दुई खेलाडी राताे कार्ड खाँदै मैदान बाहिरिएपछि ९ खेलाडीमा सिमित क्यामरुनविरुद्द एपीएफका खेलाडीले अथक प्रयास गरेपनि गाेल गर्न सकेनन् । आफ्ना ९ खेलाडी मात्र भएपनि सम्हालिएर खेल्दै क्यामरुनले खेललाई ट्राईबेकरमा पुर्याएरै छाड्याे र अन्तत: नतिजा पनि आफ्नाे पाेल्टामा पार्याे । क्यामरुनका जीतका लागि नायक बनेका गाेलकिपर राेड्रिग्भे म्यान अफ दि म्याच घाेषित हुँदै नगद १० हजार हात पारे ।
खेलकाे ८८आैं मिनेटमा क्यामरुनका जर्सी नम्बर १५ का एटाेका दाेस्राे पहेंलाे कार्डका सहित राताे कार्ड पाएर मैदान बाहिरिएका थिएभने जर्सी नम्बर १६ का जस्पिनले समेत ८९आैं मिनेटमा दाेस्राे पहेंलाे कार्ड सहित राताे कार्डकाे सामना गर्दै मैदान छाड्न बाध्य भए । शनिबारकाे खेलमा फिफा रेफ्रि नविन्द्र महर्जनले प्रतियाेगिता सूरु भएयताकै सबैभन्दा बढी पहेंलाे र राताे कार्डकाे वर्षा गरेका छन् । महर्जनले क्यामरुनका ६ खेलाडीलाई पहेंलाे तथा ६ मध्येकै २ जनालाई दाेस्राे पहेंलाे कार्ड सहित राताे कार्ड देखाएर मैदान बाहिर पठाए । त्यस्तै एपीएफका ५ जना खेलाडीले पहेंलाे कार्ड पाए । शनिबार मात्र रेफ्रि महर्जनले ११ खेलाडीलाई १३ पटक पहेंलाे कार्ड देखाएका हुन् ।
अब क्यामरुनी टिमले चैत ९ गते हुने अन्तिम क्वाटरफाईनल खेलमा नेपालकाे ए डिभिजन लिग विजेता मछिन्द्र युवा क्लबसँग भिड्नु पर्नेछ । आईतबारबाट भने क्वाटरफाईनल चरणका खेलहरु हुँदैछन् । आईतबार पहिलाे क्वाटरफाईनल खेल हिमालयन शेर्पा क्लब र पिप्ले युवा क्लब हेटाैंडा बीछ हुनेछ । यसअघि ध्रुबतारा स्पाेर्टिङ क्लब दमक झापालाई उद्घाटन खेलमा पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकाे हाे भने बाईमा परेकाे पिप्ले युवा क्लब राजर्षि जनक कपकाे डिफेण्डिङ च्याम्पियन हाे ।
ए डिभिजन लिग खेल्ने एपीएफ र अफ्रिकन खेलाडीहरुकाे मात्र एभिनिर फुटबल क्लब क्यामरुन बीचको खेल निकै प्रतिष्पर्धात्मक देखिएकाे थियाे । क्यामरुनकाे टिम दुईसाता अघिदेखि नै बागमतीमा आएर स्थानीय वातावरणमा प्रशिक्षणरत थियाे भने सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबका खेलाडीहरु शुक्रबार सर्लाही आएका थिए । एपीएफका खेलाडीहरुका तुलनामा क्यामरुनका खेलाडीहरु शारिरक रुपमा निकै बलिया र अग्ला कदका थिए । एपीएफबाट पनि एकजना स्ट्राईकर अफ्रिकन खेलाडी र गाेलकिपर जापानिज खेलाडी रहेका थिए । खेलमा रेफ्रिले तुलनात्मक रुपमा एपीएफलाई माया गरेकाे जस्ताे देखिएकाे एक दर्शकले गुनासाे गरे । एपीएफका खेलाडीले निकै रफ खेल्दापनि पहेंलाे कार्डमा कञ्जुस्याँई गरिएकाे र क्यामरुनका खेलाडीले सामान्य फल गर्दापनि दाेस्राे पहेंलाे कार्ड सहित राताे कार्ड देखाईएकाे ती दर्शककाे गुनासाे थियाे ।
प्रतियाेगितामा एपीएफका खेलाडीलाई प्राेत्साहन दिन सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी बर्दिबासका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश बहादुर ठाडामगर, सर्लाही प्रमुख सप्रउ भरत खनियाँ, राेतहट प्रमुख सप्रउ ध्रुब बहादुर कार्की, हरिवन बेस क्याम्प प्रमुख सप्रनाउ विकास भूजेल लगायत समेत खेल हेर्न उपस्थित भएका थिए ।
प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम-११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।
जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग, बीएफसी चितवन एनआरटीसँग र एपीएफ क्यामरुनी टिमसँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने म्याच कमिस्नर दिपक लामाले बताए ।
त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।
फाेटाे क्याप्सन : शनिबार एपीएफलाई पराजित गरेकाे क्यामरुनी खेलाडीहरु । (तस्बिर : उज्यालाे अभियान)