logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

राजर्षि जनक कप : एनआरटीद्वारा चितवन ३-० गाेल ले पराजित


  • उज्यालो अभियान

बागमती – छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार भएकाे खेलमा न्यु रोड टिम (एनआरटी) काठमाडौंले केबीए ग्लोबल बीएफसी चितवनलाई ३-० गाेलले  पराजित गरेकाे छ ।

खेलकाे ६७ आै मिनेटमा एनआरटीका जर्सी नम्बर ११ का क्रितिस चुन्चाेले गाेल गर्दै आफ्नाे टिमलाई अग्रता दिलाए । जर्सी नम्बर १९ का स्टेफेन समिरले डिबक्स भित्र दिएकाे बललाई चितवनका गाेलकिपर प्रदिप भण्डारीलाई बिट मार्दै चुंचाेले प्रहार गरेकाे बल सहजै गाेलमा परिणत भयाे । चुन्चाे गाेलसँगै खेल १-० मा पुग्याे ।

खेलकाे ८६ आै मिनेटमा पुनः एनआरटीलाई अनगाेल प्राप्त भयाे । एनआरटीका क्रितिस चुन्चाेले प्रहार गरेकाे बल चितवनका ३ नम्बर जर्सीका विवेक तामाङले जाेगाउन खाेज्दा आफ्नै गाेलपाेष्टकाे जाली चुम्न पुग्याे  । त्यसैगरी ८९ आै मिनेटमा एनआरटीका स्टेफेन समिरले अर्काे गाेल थप्दै टिमकाे जीत सुनिश्चित गरे । खेलकाे म्यान अफ दि म्याच घाेषित हुँदै एनआरटीका क्रितिस चुन्चाेले नगद १० हजार हात पारे ।

स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा ए डिभिजन लिग खेल्ने एनआरटी र मोफसलको चितवन टिम बीचको खेलमा दुवै टिमकाे तर्फबाट अफ्रिकन मुलका विदेशी खेलाडी समेत रहेकाले मध्यान्तरसम्म निकै प्रतिष्पर्धात्मक देखिएकाे थियाे । मध्यान्तर पश्चात् भने एनआरटीका खेलाडी थप आक्रामक बनेका थिए । एनआरटीका प्रशिक्षक एवं नेपाली फुटबल राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका राजुकाजी शाक्य स्वयं खेलमैदान स्थित अफिसियल राेमा बसेर खेलाडीलाई निर्देशन दिईरहेका थिए । अब एनआरटीले आयाेजक बागमती युवा क्लबसँग चैत ८ गते सेमिफाईनल प्रवेशका लागि खेल्नु पर्नेछ । भाेली शनिबार भने विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र नेपालकाे विभागिय एपीएफ क्लब बीच प्रतिष्पर्धा गर्दैछन् ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए । जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग र बीएफसी चितवन एनआरटीसँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने म्याच कमिस्नर दिपक लामाले बताए ।

त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।

फाेटाे क्याप्सन : बल आफ्नाे नियन्त्रणमा लिन प्रतिष्पर्धा गर्दै एनआरटी (सेताे जर्सी) र चितवनका खेलाडी । (तस्बिर : उज्यालाे अभियान)