बागमती – सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएकाे उद्घाटन खेलमा नेपाल आईस हिमालयन शेर्पा क्लब काठमाडाैं १-० गाेलले विजयी भएकाे छ । ए डिभिजन लिग हिमालयनले माेफसलकाे ध्रुबतारा स्पाेर्टिङ क्लब, झापासँग कठिन जीत निकालेकाे हाे ।
मध्यान्तरसम्म गाेलरहित बराबरीमै रहेकाे खेलकाे ६७ आै मिनेटमा हिमालयनका जर्सी नम्बर १३ का सुरेश कुमालले गाेल गर्दै टिमलाई जीत दिलाए । हिमालयनका ११ नम्बर जर्सीका अफ्रिकन खेलाडी पिस्टुने मुंमाले अगाडि बढाएकाे बललाई डिबक्समा निकै अघि बढेर झापाका गाेलकिपर प्रिन्स श्रेष्ठले खुट्टाले प्रहार गरेर फर्काएकाे बललाई नियन्त्रणमा लिँदै कुमालले सहजै गाेल गरे । गाेलकिपर प्रिन्स बिट भएकाे फाईदा खाली उठाउँदै गाेलपाेष्ट खाली रहेकाे अवस्थामा कुमालले प्रहार गरेकाे बलले झापाकाे जाली चुम्याे । हिमालयनलाई जीत दिलाउने एकमात्र गाेल गरेका कुमाल म्यान अफ दि म्याच घाेषणा हुँदै नगद १० हजारबाट पुरस्कृत भए ।
मध्यान्तर अघि आधा दर्जन भन्दा बढी पटक झापाका खेलाडीले प्रहार गरेकाे सशक्त प्रहार हिमालयनका कप्तान समेत रहेका गाेलकिपर किशाेर गिरीले उत्कृष्ट बचाउ गरे । मध्यान्तरअघि निकै आक्रामक खेलेकाे झापा मध्यान्तरपछि भने शारिरिक रूपमा बलिया हिमालयनका खेलाडी समक्ष केही फिक्का देखियाे । बललाई आफ्नाे कब्जामा लिन लयमा फर्कन खाेज्दाखाेज्दै हिमालयनकाे तर्फबाट १ गाेल हुँदा झापा स्तब्ध बन्याे । पटक-पटक विपक्षीकाे गाेलपाेष्टमा सशक्त आक्रमण बुनेर दर्शककाे वाहिवाही कमाएकाे झापा गाेलपाेष्ट आक्रमणमा फिक्का देखिएकाे हिमालयनसँग १ मात्र गाेलले पराजित हुँदा अभागी सावित भयाे ।
बागमती नगरपालिका-११, कर्मैयास्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगिताकाे अन्तिम समयमा मनाङ मर्स्याङ्दी क्लबले सहभागिता नजनाउने जानकारी गराएपछि आयोजकले झापाकाे ध्रुबतारालाई छाेटाे खबरमै प्रतियोगितामा समावेश गरेको हो । बुधबारकाे खेल फिफा रेफ्रि प्रज्वल क्षेत्री मुख्य निर्णायक रहेका थिए । यसअघि संविधानसभा सदस्य हरि उप्रेती, बागमती नगरपालिकाका प्रमुख भरत थापा लगायतले रेफ्री क्षेत्रीलाई फुटबल हस्तान्तरण गरेर तथा मञ्चमा रहेकाे पानसमा बत्ती बालेर प्रतियाेगिताकाे उद्घाटन गरेका थिए । अब हिमालयनले सेमिफाईनल प्रवेशका लागि प्रतियाेगिताकाे डिफेण्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटाैंडासँग चैत ६ गते भिड्नु पर्नेछ ।
भाेली विहिबार दिउँसाे साँढे ३ बजे नेपाल पुलिस क्लब र नव जन जागृति युवा क्लब सिमरा बीच दाेस्राे खेल हुँदैछ । प्रतियाेगितामा खेल्न जुमनु राईकाे नेतृत्वकाे पुलिस टिम हरिवन आईसकेकाे छ । बुधबार उद्घाटन समाराेह लगायत विभिन्न प्रकृया पूरा गर्नुपर्ने भएकाले खेल सूरु हुन ढिला भएकाे उल्लेख गर्दै आयाेजकले विहिबारदेखि भने जतिजना दर्शक भएपनि दिउँसाे साँढे ३ बजेबाटै सूरु गरिने जनाएकाे छ ।
प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम-११ धनगढी, केबीए ग्लोबल फुटबल क्लब चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् । आज उद्घाटन समेत हुनाले खेल ढिलागरी सूरु भएकाे र दर्शकसँग कुनै शुल्क नलिईएकाे उल्लेख गर्दै प्रतियाेगिताका म्याच कमिस्नर दिपक लामाले विहिबारबाट भने प्रति दर्शक १०० रूपैंयाकाे टिकट लाग्ने जानकारी दिए । प्रतियाेगिताकाे सेमिफाईनल र फाईनल खेलमा भने दर्शकलाई टिकटकाे २०० रूपैंया लाग्ने आयाेजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले बताए ।
फाेटाे क्याप्सन : बल आफ्नाे नियन्त्रणमा लिन प्रतिष्पर्धा गर्दै हिमालयन र झापाका खेलाडी (सेताे जर्सी) । (तस्बिर : उज्यालाे अभियान)