नवलपुर – सर्लाहीको नवलपुरमा केही महिनाअघि निर्माण पूरा भएको ग्रिड सवस्टेशनको मंगलबार औपचारिक उद्घाटन हुँदै छ ।
नेपाल विद्युत् प्राधिकरणले लालबन्दी नगरपालिका–१, नवलपुरस्थित लखन्देही खोला किनारमा निर्माण गरेको ग्रिड सवस्टेशनको मंगलबार दिउँसो उद्घाटन गर्न लागिएको हो । ग्रिड सवस्टेशनको उद्घाटन गर्न उर्जामन्त्री पम्फा भुषाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सर्लाही लागेका नेपाल विद्युत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिव कुमार साहले जानकारी दिए ।
साहका अनुसार उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । सर्लाहीमा अहिले नवलपुरमै ग्रिड सवस्टेशन निर्माण भएपछि लामो जंगल छिचोलेर रौतहटको चन्द्रनिगाहपुरदेखि लाईन तान्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
यहीँ ग्रिड सवस्टेशन बनेर संचालनमा आएसँगै जिल्लामा अनियमित विद्युत् कटौतिमा कमी आएको नेपाल विद्यूत् प्राधिकरणको लालबन्दी वितरण केन्द्रले दावी गरेको छ ।
सर्लाही रानिगंज निवासी नेपाली कांग्रेसका नेता शम्भुलाल श्रेष्ठ उर्जा राज्यमन्त्री हुँदा २०७४ सालमा उक्त सवस्टेशन निर्माणकाे याेजना पारेका हुन् ।