
मलंगवा – नेपाली कांग्रेस सर्लाही जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि शनिबार भईरहेकाे मतदान अन्तर्गत अहिलेसम्म ३ हजार मत खसेकाे छ ।
सबा ५ बजे याे समाचार तयार पार्दासम्म ३००० मत खसिसकेकाे हाे । बिहान सबा १० बजेबाट सूरु भएकाे मतदान शान्तिपूर्ण रूपमा भईरहेकाे जिल्ला निर्वाचन अधिकृत नागेश्वर सिंहले जानकारी दिए । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने सूचना प्रकाशित गरेपनि विभिन्न प्रकृयागत कुराहरु मिलाउनु पर्ने भएकाले सबा २ घण्टा ढिला गरि मतदान सूरु भएकाे हाे ।
मतदान ढिला गरि सूरु भएकाले अहिले साँझ ६ बजेसम्म मतदान स्थल मतदान स्थल सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालयकाे मूलगेट भित्र छिरेका मतदातालाई मतदान गर्न दिने सहमति भएकाे छ । सर्लाहीको २० वटा पालिकाका २०० वटा वडाबाट छानिएर आएका क्षेत्रीय प्रतिनिधिहरुले मत खसाल्न पाउने छन् । त्यसका लागि जिल्लामा ३ हजार २ सय ८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात मतदाता रहेका छन् । बेलुका मतदान सक्किनासाथ मतगणना सुरु गर्ने गरी निर्वाचन समितिले तयारी गरेकाे छ ।
नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन अर्थात प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको खेमाबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतर अर्थात शेखर कोइराला खेमाबाट लक्ष्मण राय प्यानलसहित चुनावी मैदानमा छन् । पार्टीको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत सभापतिमा बहालवाला जिल्ला उपसभापति सिंह र पूर्व जिल्ला सभापति रायबीच कडा प्रतिस्पर्धा हुँदैछ । सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुमा पनि दुवै पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।
संस्थापन पक्षबाट उपसभापतिमा डा. सरोज कुमार (राजु) र शेष साहदुल्लाह, सचिवमा निरज कार्की र मनोज कुमार यादव, सहसचिवमा सुनिल कुमार कुशवाहा र इन्द्र योञ्जनले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, संस्थापन इतर पक्षबाट उपसभापतिमा नवीन अधिकारी र रविनन्दन चौधरी (पप्पु), सचिवमा नरेन्द्र भट्टराई र कृष्णराज रायमाझी, सहसचिवमा दिनेश मिश्र र सूर्य खड्काले उम्मेदवारी दिएका छन् । सभापति र जिल्ला कार्यसमितिको पदाधिकारीसहित ९३ पदमा हुने निर्वाचनमा हरेक पदमा दुवै पक्षबाट यसअघि नै उम्मेदवारी परिसकेकाे निर्वाचन समितिले जनाएको छ ।
फाेटाे क्याप्सन : मतदान गर्न बनाईएकाे मतदानस्थल । (तस्बिर : उज्यालाे अभियान)