logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

स्व. केडियाकाे दाहसंस्कारमा मुख्यमन्त्री राउत आए


  • उज्यालो अभियान

बागमती – उद्योगपति स्व. हिरालाल केडियाकाे दाहसंस्कारमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत पनि सहभागी भएका छन् ।

बुधबार दिउँसाे बागमति नदि किनारमा स्व. केडियाकाे दाहसंस्कार गर्ने क्रममा मुख्यमन्त्री राउत जनकपुरबाट साेझै आएका थिए । झण्डै १ घण्टा बागमति किनारमा बसेका मुख्यमन्त्री राउत साँझ जनकपुर नै फर्किएका छन् । दाहसंस्कार स्थलमा मुख्यमन्त्री राउतले स्व. केडियाका आफन्त एवं विभिन्न स्थानबाट आएका व्यापारीहरुसँग भलाकुसारी समेत गरेका थिए ।

सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगका संचालक राजेश केडियाका पिता हिरालालको ८६ वर्षको उमेरमा मंगलबार राती काठमाडौंमा निधन भएको हो । हिरालालको शव काठमाडौबाट राती नै वीरगंज ल्याईएको थियाे । बुधबार साँझ सर्लाही र रौतहटको सिमा बागमती नदी किनारमा स्व. केडियाकाे पार्थिव शरिरकाे दाहसंस्कार सम्पन्न गरिएकाे छ । दाहसंस्कारमा मुलुकका विभिन्न स्थानबाट उद्याेगीव्यापारीहरु, ईन्दुशंकर चिनी उद्याेगका कर्मचारी, मजदुर लगायत सयाैंकाे उपस्थिति रहेकाे थियाे ।

हाल केडिया अर्गनाईजेशन नेपालका अध्यक्ष समेत रहेका स्व. हिरालालका रमेश, सुरेश, राजेश र विमल गरी ४ छोरा रहेका छन् । उनीहरुको ईन्दुशंकर बाहेक मैदा, चक्की आँटा, डाल्ला घ्यू, सिमेन्ट उद्योग लगायतमा लगानी रहेको छ भने शिक्षा क्षेत्रमा समेत डीएभी कलेज संचालन गरिरहेका छन् । स्व. हिरालाल नेपाल सरकारको विभिन्न मानपदवीबाट समेत विभूषित छन् ।

फाेटाे क्याप्सन : दाहसंस्कार स्थलमा मुख्यमन्त्री माे. लालबाबु राउत लगायत उद्याेगी व्यापारीहरु । (तस्बिर : उज्यालाे अभियान)