
मलंगवा – नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन अन्तर्गत फागुन २८ गते शनिबार मतदानको मिति तोकिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही जिल्लाको अधिवेशन गराउन खटाएका निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले बुधबार सूचना प्रकाशित गर्दै फागुन २८ गते शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानकाे कार्यक्रम सार्वजनिक गरेका हुन् । सूचनामा २८ गते पब्लिक माध्यमिक विद्यालय मलंगवालाई नै मतदानस्थल तोकिएको छ ।
यसअघि फागुन २३ गते मतदानको सम्पूर्ण तयारी भइसकेको अवस्थामा पार्टीको संस्थापन र संस्थापन इतर समूहको विवादले साेही दिन दिउँसाे मतदान नै स्थगित भएको थियो । इच्छ्याएको व्यक्तिले मत खसाल्ने, मतपत्रमा उम्मेदवारको नाम अगाडि राख्ने लगायतका विषयमा विवाद भएको थियो ।
उक्त विवादमध्ये अब भने अल्फाबेट अनुसार उम्मेद्वारहरुकाे नाम राखेर फेरि मतपत्र छापिने निर्वाचन अधिकृत सिंहले बताए । उनका अनुसार अब गुट अनुसार उम्मेदवारहरुको नाम सुरुदेखि अन्तिमसम्म लस्करै नहुने पनि भएको छ । अ, आ, इ, ई तथा क, ख, ग, घ अनुसार क्रमशः जसको नाम अल्फावेट अनुसार अगाडि हुन्छ, उही उम्मेदवारको नाम मतपत्रमा अगाडि हुने भएकाले मतदाताहरुले आफूले रुचाएको मतदाताको नाम पढेर मत खसाल्नु पर्ने भएको छ ।
विवादको अन्य विषय इच्छ्याएको व्यक्तिले मत खसाल्ने लगायतका सम्वन्धमा पार्टीको विधान अनुसार हुने निर्वाचन अधिकृत सिंहले बताएका छन् । उनले शनिबारसम्ममा नयाँ मतपत्र छाप्ने लगायतको तयारीको काम पूरा गरिने बताएका छन् ।
यसअघि फागुन २३ गतेकाे मतदान कार्यक्रम स्थगित भएपछि संस्थापन पक्षबाट सभापतिका प्रत्यासी सुरेन्द्र प्रसाद सिंह र संस्थापन ईतरबाट सभापतिका प्रत्यासी लक्ष्मण रायले एकअर्कालाई बखेडा झिकेर मतदान स्थगित गराएकाे आराेप लगाउँदै अविलम्ब मतदानकाे माग राखेर प्रेस विज्ञप्ति प्रकाशित गरेका थिए । निर्वाचन अधिकृतले नयाँ मिति ताेकेपछि हाल दुवैपक्ष जाेडताेडका साथ प्रचारप्रसारमा जुटेका छन् । गाउँगाउँमा जीपकाे ´काफिला` नै प्रदर्शन गर्ने हाेडबाजी चलेकाे छ ।