मंगलबार दिउँसो हरिवन बजारबाट नाईट्राभेट ट्याब्लेट सहित हरिवनमा पक्राउ परेका दुईजना तथा ट्याब्लेट लुकाउन प्रयोग गरिएको मोटरसाईकल । (तस्बिर सौजन्य : नेपाल प्रहरी)
हरिवन – लागूऔषधको रुपमा प्रयोग हुने प्रतिबन्धित औषधी सहित युवाहरु पक्राउ पर्नु सामान्य जस्तै बनिसकेको छ । सिमापारी भारतीय सोनवर्षा, मेजरगंज, लालबन्दी, बसभिट्टा लगायतबाट नेपालतर्फ लागूऔषध भित्र्याउँदै गर्दा सर्लाहीका विभिन्न स्थानबाट युवाहरु बाक्लै रुपमा पक्राउ पर्दै आएका छन् ।
तर पछिल्लो समय युवा मात्र हैन उमेर ढल्किएर वृद्ध अवस्थामा पुग्न लागेका पुरुष र महिला पनि लागूऔषध ओसारपसार एवं बेचबिखन तथा सेवनमा संलग्न हुने गरेको पाईएको छ । मंगलबार दिउँसो ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले ५४ वर्षीय अहमद् अलिलाई लागूऔषधको रुपमा प्रयोग हुने ३०० पिस नाईट्राभेट ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ । कबिलासी नगरपालिका–१ निवासी अलि र कबिलासी–२ निवासी ३० वर्षीय संजय कुमार महतोलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरु चढेको ना. १४ प ७७३० नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा मोटरसाइकलको सिटभित्र कालो प्लाष्टिकमा लुकाएर राखिएको अवस्थामा नाईट्राभेट ट्याब्लेट बरामद् गरिएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए । महतो र अलीले भारतीय सीमावर्ती क्षेत्रबाट लागूऔषध बेच्नका लागि हरिवनसम्म आएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार उनीहरुले मोटरसाईकलमा भारतबाट भन्सार छलीका किराना सामानहरु समेत ल्याएका थिए र सो सामानहरु हरिवनका केही पसलेलाई दिएका थिए । ड्युटीमा रहेका प्रहरीले हरिवनको कुशवाहा मार्केट नजिक शंका लागि मोटरसाईकल चेकजाँच गर्दा उक्त लागूऔषध फेला परेको हो ।
सर्लाही प्रहरीले पछिल्लो तीन दिनयता मलंगवा, खुटौना र हरिवनबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।