निर्वाचन स्थगित भएको सूचना ।
मलंगवा – नेपाली कांग्रेस सर्लाहीको निर्वाचन स्थगित भएको छ ।
दुई पक्षबीचको विवादका कारण सोमबारका लागि तय भएको निर्वाचन अनिश्चित समयका लागि स्थगित गरिएको हो । निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन नसकिएको भन्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको भन्दै सुचना निकालेका छन् ।
बिहान ९ बजेदेखि सुरु हुने भनिएको निर्वाचन दिउँसो १ः१५ बजे सूचना टाँसेर स्थगित गरिएको जानकारी गराइएको हो । निर्वाचन स्थगित भएपछि मतदान स्थल पब्लिक माध्यमिक विद्यालय बाहिर अहिले कार्यकर्ताहरुले नाराबाजी गरिरहेका छन् ।
मतदानका लागि भन्दै बिहानै जिल्लाभरबाट नेता कार्यकर्ताहरु सदरमुकाम मलंगवा पुगेका थिए । ४ घण्टासम्म तातो घाममा लाइन बसेर मतदान गर्न नपाएको भन्दै कार्यकर्ताहरु आक्रोशित बनेका छन् ।