सदरमुकाम मलंगवा स्थित सरकारी जिल्ला अस्पताल । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – सर्लाहीसहित मधेस प्रदेशमा रहेका पाँचवटा प्रादेशिक अस्पताल (साबिकको जिल्ला अस्पताल) मा रहेको पीसीआर प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी बिना नियुक्ति र पारिश्रमिक काम गर्न बाध्य भइरहेका छन् ।
मलंगवा, गौर, जलेश्वर, कलैया र सिरहास्थित प्रादेशिक अस्पतालमा रहेको प्रयोगशालाका माइक्रोबायोलोजिष्ट, ल्याब टेक्निोलोजिष्ट, ल्याब टेक्निसियन र ल्याब असिस्टेन्टले नियुक्ति र तलब बिनै काम गर्नुपरेको हो । उनिहरुको गएको पुस मसान्तमा नै करार नियुक्ति सकिएको छ भने मंसिरदेखि तलब समेत पाएका छैनन् ।
प्रादेशिक अस्पताल मलङ्गवाका माइक्रोबायोलोजिष्ट सुशील यादवले नियुक्ति थपिने र तलब पनि पाउने आश्वासन पाएर अहिलेसम्म काम गर्दै आइरहेको बताए । ´नियुक्तिको अवधि सकिएको डेढ महिना भइसक्दा समेत पुनः थपिने आश्वासनमा काम गरिरहेका छौँ, यादवले उज्यालो अभियानसँग भने, ´यसअघि पुस मसान्तसम्मको नियुक्ति भएपनि कात्तिकसम्मको मात्रै तलब पाएका छौँ, काम गरेको तीन महिनाको तलब हात परेको छैन ।
यादवले अस्पतालमार्फत नियुक्तिको मिति थप गर्न र तलब सुविधा उपलब्ध गराउन बारम्बार आग्रह गरिरहेको बताए । आफूहरुको आग्रह अनुसार जिल्ला अस्पतालले प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पत्र पठाएको भएपनि नियुक्ति थप नभएको तर आफूहरुले निरन्तर कोरोना परीक्षणका लागि प्रयोगशालामा बसेर काम गरिरहेको गुनासो गरेका छन् ।
सर्लाहीको प्रादेशिक अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर नवलकिशोर झाले पीसीआर ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरुको नियुक्ति थपिदिन र सम्झौता अनुसार तलब सुविधा उपलब्ध गराइदिन प्रदेश सरकारसँग माग गरिएको बताएका छन् । उनले स्वास्थ्यकर्मीहरुलाई नियुक्ति थपिने र काम गरेको पारिश्रमिक समेत पाउने आश्वासन दिएर काममा लगाइरहेको जानकारी दिए ।
मलङ्गवा, गौर, जलेश्वर, कलैया र सिरहाको प्रादेशिक अस्पतालमा एक जना माइक्रोब्यालोजिष्ट, दुई जना ल्याबटेक्नोलोजिष्ट, तीन जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेन्ट कार्यरत छन् । उनीहरुले तलब सुविधा पाएको अवधिमा तलबबाहेक कोरोना सङ्क्रमणको समयमा खटिएको जोखिम भक्ता नपाएको गुनासो गरेका छन् ।
मधेस प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डाक्टर श्रवण कुमार मिश्रले पीसीआर ल्याबमा खटिने स्वास्थ्यकर्मीहरुको नियुक्ति अवधि थपिने क्रममै रहेको बताएका छन् । ´विभिन्न चरण पार गर्नुपर्ने भएकाले नियुक्ति थपिन समय लागेको हो तर त्यो प्रक्रियामै रहेको छ`, डाक्टर मिश्रले भने ।
फोटो क्याप्सन : सर्लाहीस्थित प्रादेशिक अस्पताल मलंगवा । (तस्बीर : उज्यालो अभियान)