पुस्तक विमोचन गर्दै कार्यक्रममा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : उज्यालो अभियान)
सुखेपोखरी – शिक्षासेवी कृष्णप्रसाद भट्टराईद्वारा लिखित ‘विकसित नेपाल सम्पन्न नेपाली’ नामक पुस्तक विमोचन गरिएको छ ।
शनिबार दिउँसो सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत सुखेपोखरी स्थित चत्तुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा आयोजित एक भव्य समारोहबीच उक्त पुस्तकको विमोचन गरिएको हो । माध्यामिक बिध्यालयका पुुर्व प्रधानाध्यापक एवं शिक्षाविद कृष्ण प्रसाद भट्राईले लेख्नु भएको पुस्तक बिमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, विशिष्ट अतिथि हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं, नेपाली कांग्रेसका नेता विनोद खनाल, क्याम्पस सञ्चालक समितिका अध्यक्ष बासुदेव निरौला, शिक्षासेवी यमिनि कुमार दिप लगायतले पुस्तकको दुवैतर्फको भाग देखाएर विमोचन गरेका थिए । विमोचन कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता, समाजसेवी, उद्योगी, व्यापारी, छिमेकी जिल्ला सहित मकवानपुरसम्मका साहित्यिक व्यक्तित्वहरु लगायतको उपस्थिती रहेको थियो ।
लेखक भट्टराईले विपन्नलाई सम्पन्नमा स्तरोन्नती गरी ‘वसुधैव कुटुम्बकम’ को भावना विकसित गर्न, देशका शतप्रतिशत आवाल–वृद्ध–वनिताका रुपमा रहेका नागरिकमा ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु माकश्चित दुःख भाग्भवेत’ भन्ने धारणा हरेक नेपालीमा हृदयदेखि नै जगाउन, अविकसित देशको सूचीमा रहेको नेपाललाई ‘अ’ अक्षर झिकी विकसित देशको सूचीमा सूचीकृत गर्न, हाम्रो भूबनोटबाट प्राप्त हुने अथाह प्राकृतिक स्रोत र सम्पतिलाई हामी नेपाली मात्रको विकास, निर्माण र उन्नतीमा उपयोग गर्न, जनता र अर्थतन्त्रलाई तालमेल मिलाएर जनतालाई बलियो पारी देश बलियो पार्ने पुस्तकको भावार्थ रहेको छ । लेखकले पुस्तकमा नागरिकहरुको सशक्तिकरणका लागि स्थानीय व्यवस्थापन कोष, विपन्न नागरिक पौरख कोष, सुत्केरी भत्ता कोष, विकसित देश निर्माण कोष, वसुधा पेन्सन कोष र सरकारी सहभागिता रकमको अवधारणा समेत अगाडी सारेका छन् ।
अक्ष्यरांकन बनेपाकी गीता अधिकारी, आवरणसज्जा ईन्जिनियर रोशन मञ्जुश्री अधिकारी र मुद्रण शब्दयात्रा प्रकाशन बनेपाले गरेको ६२ पृष्ठ पुस्तकको मुल्य १०० रुपैंया रहेको छ । लेखक भट्टराईले आफ्नो जिवनमा सँगालेको अनुभवका आधारमा मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्म छरिएर रहेका नेपालवासीमा उर्जा र उज्यालो प्रदान गर्न विकसित नेपाल सम्पन्न नेपाली पुस्तक लेखेको उल्लेख गरे ।
सर्लाही साहित्य समाजको आयोजना तथा क्याम्पसको प्रायोजन रहेको कार्यक्रमको संचालन घनश्याम निरौलाले गरेका थिए । कार्यक्रमकै अवसरमा हरिवन नगरपालिका–९ का वडाध्यक्ष सिताराम पोखरेलले लेखक भट्टराईलाई सम्मान समेत गरेका थिए । २००४ सालमा सर्लाहीको परवानीपुर जन्मिएका लेखक भट्टराई २०२८ सालदेखि शिक्षण पेशामा लागेका थिए । २०३१ सालदेखि विभिन्न विद्यालयमा प्रधानाध्यापकको रुपमा शिक्षा क्षेत्रको सेवा गरेका भट्टराईले २०६० सालमा स्वेच्छिक अवकार लिएका हुन् । उनका पत्नी चन्दकला कोइराला भट्टराई सहित छोराहरु अधिवक्ता सन्तोष, ईन्जिनियरद्वय नवराज र सनोज तथा छोरी अधिवक्ता शैलजा भट्टराई देवकोटा रहेका छन् ।