मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार मतदाता नामावली अद्यावधिक गराउने सम्वन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको छ ।
यही फागुन १९ गतेदेखि २६ गतेसम्म जिल्लाका २० वटा पालिकाका २०० वटै वडामा दावी विरोधसहित मतदाता नामावली अद्यावधिक गराउन अभियान नै सञ्चालन गर्न लागिएकाले यसबारे जानकारी गराउन सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको हो । जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दीवाकर भुजेलले फागुन १९ गतेदेखि प्रत्येक वडाहरुमा त्यहाँका मतदाताहरुको नामावली पठाइने र कसैको कुनै पनि विवरण सच्याउनु पर्ने भए वडा कार्यालयमै गएर निवेदन दिन सक्ने बताए ।
उनले शुक्रबार अन्तरक्रिया गरेर यसबारेमा जिल्लाका कार्यालय प्रमुख, सुरक्षा अधिकारी, नागरिक समाज, सञ्चारकर्मी लगायत सबै सरोकारावालाहरुलाई अवगत गराइएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा जिल्ला समन्वय समितिको सभा हलमा अन्तरक्रिया गरिएको हो ।
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि माघ २५ गतेबाट फोटोसहितको मतदाता नामावली संकलन कार्य बन्द गरिएको छ । अब हुने निर्वाचनमा माघ २४ गतेसम्म नामावली दर्ता गराएकाहरुले मात्रै मत खसाल्न पाउने छन् ।
२०७४ सालको निर्वाचनमा ३ लाख ८५ हजार मतदाता रहेको सर्लाहीमा अहिले करिव ४ लाख ७६ हजार मतदाता पुगेका छन् ।
फोटो क्याप्सन : अन्तरक्रियामा सहभागि । (तस्बिर : उज्यालाे अभियान)