प्रतिकात्मक तस्बिर
बसबरिया – सर्लाहीको बसबरिया गाउँपालिका–४, धनगढामा रहेको पञ्चायत आदर्श माध्यमिक विद्यालयको कम्प्युटर प्रयोगशालामा आगजनी गरिएको छ ।
अज्ञात व्यक्तिले गरेको आगजनीबाट प्रयोगशालामा रहेका २४ थान कम्प्युटरमा क्षति पुगेको विद्यालयले जनाएको छ । आइसीटी कार्यक्रम अन्तर्गत विद्यालयलाई २०७६ साल चैतमा २४ थान कम्प्युटर प्राप्त भएको थियो । अस्ती शुक्रबारसम्म विद्यार्थीहरुले चलाएर घर गएका कम्प्युटरमा अज्ञात व्यक्तिले आगजनी गरी क्षति पुर्याएपछि कम्प्युटर प्रयोगशाला बन्द गर्नुपरेको विद्यालयका प्रधानाध्यापक रामपुजन यादवले बताए । उनका अनुसार कम्प्युटर प्रयोगशालामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले कम्प्युटर सिक्दै आएका थिए ।
अत्यन्तै सङ्घर्ष गरेर जुटाएको कम्प्युटरमा आगजनी गरेर क्षति पुर्याएपछि असाध्य दुःख लागेको प्रधानाध्यापक यादवको गुनासो छ । इलाका प्रहरी कार्यालय बरहथवाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक नरेन्द्र कुमार मैरबैताले आगजनीको घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जानकारी दिए । उनले कम्प्युटरहरु जलेको हेर्दा विद्युत सर्ट भएको जस्तो देखिएपनि ढोकाको ताल्चा फोडिएका कारण घटना शङ्कास्पद नै रहेको बताए । धनगढाको सो विद्यालयमा यसअघि पनि ताल्चा फोडेर भित्ररहेका कागजातहरु जलाइएको थियो । विद्यालयका प्रधानाध्यापक यादवले बीचमा केही समय सुरक्षा गार्ड राखिएको भएपनि नियमित तलब खुवाउन आर्थिक अभाव भएपछि कामबाट निकालिएको बताए ।