मलंगवा – सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित सुरक्षा अधिकारीहरुले बिहीबार जिल्लाका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख चन्दन झाले समसामायिक विषयमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गरेका हुन् । जिल्ला प्रशासन कार्यालय मलंगवाको सभा हलमा भएको अन्तक्र्रियामा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतका सञ्चारकर्मीहरुले जिल्लाको शान्ति सुरक्षाका सम्वन्धमा विभिन्न सल्लाह सुझावहरु राखेका थिए । अन्तरक्रियामा शनिबार परेको प्रजातन्त्र दिवसलाई हर्षोल्लासपूर्वक मनाउन सञ्चार माध्यम र संचारकर्मीहरुले पनि प्रचारप्रसारमा सहयोग गर्ने निर्णय भएको छ ।
सञ्चारकर्मीहरुको अन्तरक्रियापछि प्रजातन्त्र दिवस मनाउने सम्वन्धमा प्रमुख जिल्ला अधिकारी गौतमसहित सुरक्षा अधिकारीहरुले जिल्लाका कार्यालय प्रमुखहरुसँग पनि अन्तरक्रिया गरेका छन् ।
फोटो क्याप्सन : सुरक्षा अधिकारी र संचारकर्मीबीचको अन्तक्र्रिया कार्यक्रम । (तस्बीर : उज्यालो अभियान)