logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस नेता कार्कीको निधन, प्रदेश सभापति रायले ओडाए चारतारे झण्डा


  • उज्यालो अभियान

बागमती नदि किनारमा दाहसंस्कार अघि स्व. खड्ग बहादुर कार्कीको पार्थिव शरिरमा नेपाली कांग्रेसको चारतारी झण्डा ओडाउँदै कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादव लगायत नेताहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती – नेपाली कांग्रेसका नेता खड्ग बहादुर कार्कीको ७१ वर्षको उमेरमा निधन भएको छ ।

हरिवन नगरपालिका–११ निवासी कार्कीको विहिबार राती साँढे ८ बजे निधन भएको हो । उनी उच्च रक्तचाप, मधुमेह लगायत रोगबाट पीडित थिए । शुक्रबार बिहान बागमती नदि किनारमा स्व. कार्कीको पार्थिव शरिर दाहसंस्कार गरिएको छ । दाहसंस्कार अघि स्व. कार्कीको पार्थिव शरिरमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्ण यादव, सर्लाही जिल्ला उपसभापति सुरेन्द्र प्रसाद सिंह, पूर्व जिल्ला सभापति लक्ष्मण राय, नेकपा एमालेका नेता रेवती पन्त लगाएतले कांग्रेसको चारतारे झण्डा ओढाएका थिए ।

दाहसंस्कार स्थलमा कांग्रेस हरिवन सभापति रामशरण उप्रेतीको अध्यक्षतामा आयोजित संक्षिप्त श्रद्दाञ्जली सभामा कांग्रेस मधेश प्रदेश सभापति कृष्ण यादव, नेकपा एमाले प्रदेश उपाध्यक्ष रेवती पन्त, कांग्रेस सर्लाही उपसभापती सुरेन्द्र प्रसाद सिंह, कांग्रेस पूर्व जिल्ला सभापति लक्ष्मण राय, कांग्रेस पूर्व जिल्ला उपसभापती एवं महाधिवेशन प्रतिनिधि विनोद खनाल, हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईं, एमाले नेता राजकुमार उप्रेती, नेकपा माओवादी केन्द्र हरिवनका अध्यक्ष अर्जुन पन्त, नेकपा एकीकृत समाजवादी हरिवन अध्यक्ष चूडामणि वाग्ले लगायतले स्व. कार्कीले प्रजातान्त्रिक आन्दोलन एवं सामाजिक परिवर्तनका लागि पुर्याएको योगदानको चर्चा गर्दै कार्कीको निधनले समाजलाई अपुरणीय क्षति पुगेको बताएका छन् । श्रद्दाञ्जली सभाको संचालन कांग्रेस हरिवन सचिब निरज कार्कीले गरेका थिए । दाहसंस्कार स्थलमा नेकपा माओवादी केन्द्रका सर्लाही संयोजक कमल बुढाथोकी, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, उद्योगी व्यापारी, विभिन्न राजनैतिक दलका नेताहरु लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

स्व. कार्की २०३६ सालको आन्दोलन तथा २०४२ सालको सत्याग्रहमा सहभागी हुँदा जेल समेत परेका थिए । २०३६ सालको आन्दोलनमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चापिनी पुल जलाउने क्रममा केशव मैनाली, हिमालराज भण्डारी लगायत सँगै पक्राउ परेका थिए । त्यो बेला कार्कीको अनुहारभरी सुरक्षाकर्मीले सियोले घोचेर छियाछिया पारेको बताईन्छ । लामो समयदेखि कांग्रेसमा क्रियाशिल भएपनि पदका लागि कहिल्यै वास्ता नगर्ने उनी अघिल्लो जिल्ला अधिवेशनमा भने महाधिवेशन प्रतिनिधि बनेका थिए ।