लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकामा बिहीबार अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको विरुद्धमा र्याली निकालीएको छ ।
राष्ट्रीय शक्ति अभियान नेपालको आयोजनामा बिहीबार एमसीसी सँसदबाट पास गर्न नहुने भन्दै यसको विरुद्धमा र्यालि निकाली प्रदर्शन गरिएको हो । एमसीसी नेपालको हितमा नभएको भन्दै राष्ट्रीय शक्ति अभियान नेपालले लालबन्दी नगरपालिकाको जनवादी चौकदेखी डुमडुमे मन्दिरसम्म निकालेको र्याली मन्दिरमा आई कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै नागरिक अभियानका शंकर खनाल, पार्टीका जिल्ला अध्यक्ष गोपाल प्रसाद ढकाल, केन्द्रीय सदस्य गणेश कुमार सिंहलगायतले आ–आफ्नो धारणा व्यक्त गर्दै एमसीसी नेपाल र नेपाली नागरिकका लागि घातक सावित हुने भएकाले यसलाई पास गर्न नहुने बताएका थिए । र्यालीमा पार्टीकी केन्द्रीय सदस्य अन्जु कुमारी थपलिया, वरिष्ठ सदस्य जलेश्वर साह, प्रशान्त चौधरी, जिल्ला सचिव केशव बहादुर महत, मिरा पोखरेल, शारदा सत्याल लगायत पार्टीप्रति आस्था राख्ने र एमसीसीको विरुद्धमा रहेका दुई सय नागरिकको सहभागिता रहेको पार्टीका केन्द्रीय सदस्य रोहित पौडेलले जानकारी दिए ।