(फाईल तस्बिर)
लालबन्दी – विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाएपछि सर्लाहीमा पनि सोमबारबाट शैक्षिक संस्थाहरु खुलेका छन् ।
जिल्लाको २० वटै पालिकामा निजी तथा सरकारी सबै विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन संचालन गरेका हुन् । पालिकाहरुले सूचना निकालेर सोमबारबाट पठनपाठन सूचारु गर्न विद्यालयहरुलाई निर्देशन दिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार सर्लाहीमा १२ वर्षदेखि १७ वर्षसम्मका एक लाख दुई हजार ९८७ जना विद्यार्थीले मोर्डना खोपको पहिलो मात्रा लगाएका छन् । दोस्रो मात्रा खोप लगाउने विद्यार्थीको संख्या भने संकलन भइरहेको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डाक्टर नवलकिशोर झाले जानकारी दिए ।
डा. झाका अनुसार अधिकांश विद्यार्थीहरुलाई स्वास्थ्यकर्मीले विद्यालयमा नै पुगेर खोप लगाएका छन् । स्वास्थ्य चौकी नजिकै रहेका केही विद्यालयका विद्यार्थीहरुलाई भने स्वास्थ्य चौकीमा बोलाएर खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाको हरिपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख नागेश्वर रायले आइतबारबाटै विद्यालय खोल्ने निर्णय भएपनि प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा आइतबार बिदा दिएकाले सोमबारबाट नगरभित्रका सबै विद्यालयहरु खुलेका जानकारी दिए । विद्यार्थीहरुले खोप लगाएपनि मास्क भने अनिवार्य गर्न विद्यालयहरुलाई आग्रह गरिएको रायले बताए ।