logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

वर्षाकाे क्षति पूर्ति गर्न ईट्टा व्यवसायीद्वारा उपभाेक्ताकाे ´ढाड सेकाई`


  • उज्यालो अभियान

फाइल तस्बीर ।

जनार्जन खत्री/हरिवन – बेमौसमी वर्षाले काँचो इँटा नष्ट गरेर ठूलो क्षति पुर्याएकाे भन्दै सर्लाहीका इँटा व्यवसायीले इँटाको मूल्य बढाएका छन् ।

अघिल्लो साता दुई दिन भएको वर्षाले जिल्लामा करिव ३३ करोड रुपैयाँ मूल्य बराबरको काँचो इँटा नष्ट पारेको व्यवसायीहरुकाे दाबी छ । त्यसबेला झण्डै १२ करोड वटा इँटा पानीले गलेर नष्ट भएको व्यवसायीहरुले बताएका छन् ।

तत्काल मूल्य वृद्धि नगरिए व्यवसायीहरुले घर खेत नै बेच्नुपर्ने अवस्था आएपछि प्रतिइँटा दुई रुपियाँ मूल्य वृद्धि गरिएको सर्लाही इँटा उद्योग व्यवसायी सङ्घका सचिव एवं सासापुरमा इँटा भट्टा सञ्चालन गरिरहेका व्यवसायी भगवान मैनालीले बताए । उनका अनुसार मूल्य वृद्धि गरेर कोइलाबाट पकाइएको १ नम्बर इँटाको १६ रुपैयाँ र दाउराबाट पकाइएको इँटाको १४ रुपैयाँ पुर्याइएको हो ।

वर्षाले उत्पादनका लागि तयार पार्दै गरेको काँचो इँटा ठूलो परिमाणमा नष्ट पारेपछि जिल्लामा अहिले घरलगायत अन्य भौतिक संरचना निर्माण गरिरहेकाहरुले सहज रुपमा इँटा पाउन सकेका छैनन् । लालबन्दी नगरपालिका-७, का रंगनाथ पराजुलीले घर निर्माण गरिरहँदा इँटाको अभाव झेलिरहेको गुनासो गरेका छन् ।

व्यवसायीहरुले वर्षाबाट जोगिएको केही काँचो इँटा बिक्री गरिरहेका छन् । यो समय इँटा उत्पादन गर्ने मुख्ययाम हो तर बेमौसमी वर्षा भएर काँचो इँटा नष्ट पारेपछि आगामी असार, साउनमा इँटाको अभाव अझ बढ्ने सर्लाही इँटा उद्योग व्यवसायी संघका अध्यक्ष मेथुर चौधरीले बताए ।

अहिले उत्पादन गरेर मौज्दात राख्न नपाउँदा धेरै वर्षा हुने असार, साउनमा इँटाको अभाव खड्किने व्यवसायीहरुको भनाई छ । वर्षाले नसोचेको क्षति बेहार्नुपर्दा सर्लाहीका इँटा व्यवसायीले केही दिनअघि जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै क्षतिपूर्तिको माग गरेका थिए । इँटा उद्योग व्यवसायी संघका अनुसार सर्लाहीमा ९३ वटा इँटा उद्योग सञ्चालनमा रहेका छन् । कुनै विपदि पर्दा सरकारबाट राहत वा क्षतिपूर्ति लिनु पर्नेमा सर्लाहीका ईट्टा व्यवसायीले भने मूल्य बढाएर उपभाेक्ताबाट असुल्ने बाटाे राेजेका छन् ।

फाेटाे क्याप्सन : सर्लाहीकाे चन्द्रनगर स्थित एक ईँटा उद्याेग । (तस्बिर : उज्यालाे अभियान)