बबरगंज – सर्लाहीको चन्द्रनगर गाउँपालिका-२, बबरगंजमा आइतबार बिहान नवविवाहित दुलहा-दुलही बोक्न हेलिकप्टर चार्टर गरिएको छ ।
स्थानीय विन्देश्वर रायकी छोरी सोगन्धी यादवको गत शुक्रबार छिमेकी गाउँ चन्द्रनगर गाउँपालिकाकै वडा नं. १ रतनपुरका राजाराम रायको छोरा नवीन रायसँग विवाह भएको थियो । दुल्हन फर्काउन आएका नवनिवाहित दुलहा-दुलहीलाई बबरगंजदेखि रतनपुरसम्म पुर्याउन हेलिकप्टर चार्टर गरिएको हो ।
हेलिकप्टर चार्टर गरिएको दुलहीको घर बबरगंजबाट दुलहाको घर रतनपुरसम्म मोटरसाइकलमा करिव १० मिनेटमै पुगिन्छ । दुलहीको गाउँ बबरगंजस्थित दुर्गा खोभारी माध्यमिक विद्यालयबाट दुलहा-दुलही बोकेर उडेको हेलिकप्टर केही मिनेटमै दुलहाको गाउँ किसनपुरको रतनपुरस्थित घर नजिकै खाली खेतमा ल्याण्ड गरिएको थियो ।
विवाहमा हेलिकप्टर चार्टर गरेर दुलहा-दुलहीलाई चढाउने इच्छा अनुसार करिव दुई लाख रुपैयाँ भाडा तिरेर हेलिकप्टर चार्टर गरिएको उनीहरुको पारिवारिक स्रोतले जनाएको छ ।
फोटो क्याप्सन : दुलहा–दुलही बोक्न बबरगंजमा ल्याण्ड गरिएको हेलिकप्टर । (तस्बीर : उज्यालो अभियान)