ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–३, तिनघरिया लोहर्वा पुल नजिक शनिबार फेला परेको शवको आईतबार पनि सनाखत हुन सकेको छैन् ।
पुल नजिकै करिव १५० मिटरभित्र झाडीमा अन्दाजी २५/३० वर्षका पुरुषको शव फेला परेको हो । शंकास्पद अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।
शनिबार मध्यान्ह शव फेला परेपछि जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईं आफै घटनास्थलमा पुगेका थिए । कालो निलो ज्याकेट, कालो रंगको ट्राउजर, निलो जिन्स पाइन्ट, दाहिने हातमा जय माता दी लेखिएको पित्तलको बाला लगाएका अन्दाजी ५ फिट ८ इन्च उचाई भएका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उक्त हुलिया मातहतका सबै प्रहरी युनिटहरुमा पठाएर मृतकको परिचय खुलाउने प्रयास भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले बताए । उनका अनुसार मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ । मृतकको परिचय नै नखुलेकाले घटनाको अनुसन्धान गर्न समस्या परेको प्रहरी अधिकारीहरुले बताएका छन् ।