logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

मोटरसाइकल चोरी घटाउन वर्कशप संचालकलाई पढाउँदै लालबन्दी प्रहरी


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीस्थित ईलाका प्रहरी कार्यालयले बिहीबार मोटरसाइकल मर्मत गर्ने वर्कशपका सञ्चालकहरुसँग अन्तरक्रिया गरेको छ ।

मोटरसाइकल चोरीका घटना न्यूनिकरण गर्ने उद्देश्यसहित लालबन्दी बजार, रानिगंज र नवलपुरमा रहेका मोटरसाइकल वर्कशप सञ्चालकहरुसँग अन्तरक्रिया गरिएको हो । पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढिरहँदा कतिपय चोरीका घटनामा वर्कशप सञ्चालकहरुको समेत संलग्नता देखिएपछि उनीहरुलाई बिहीबार कार्यालयमै बोलाएर कानूनी प्रावधान लगायतका विषयमा प्रशिक्षण प्रदान गर्दै अन्तरक्रिया गरिएको लालबन्दीका प्रहरी प्रमुख (इन्स्पेक्टर) निर्मल थापाले उज्यालो अभियानसँग बताए ।

अन्तरक्रियामा सवारी दुर्घटना गराएर फरार भएका सवारी साधनको पाटपूर्जा फेर्न आएमा र चोरी भएको जस्तो देखिने शंकास्पद मोटरसाइकल लिएर आएमा प्रहरीमा खबर गर्न वर्कशप संचालकहरुलाई आग्रह गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए । लालबन्दी प्रहरीले यही माघ २२ गते चोरीको मोटरसाइकलसहित हरिपुर नगरपालिका-७ चिताइनबाट वर्कशपका संचालकलाई पक्राउ गरेको थियो ।

सो घटनापछि मोटरसाइकल चोरीको घटनामा वर्कशप संचालकको समेत संलग्नता देखिएपछि प्रहरीले बिहीबार नगरभित्रका वर्कशप संचालकहरुलाई बोलाएर सचेत गराएको हो । अन्तरक्रियामा लालबन्दीका प्रहरी प्रमुख थापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख (इन्सपेक्टर) केदारमान दोङले कानूनी प्रावधान लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

अन्तरक्रियामा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशी, लालबन्दी जेसिजका अध्यक्ष सन्तोष पौडेल, लायन्स क्लब लालबन्दी सेन्चुरीका अध्यक्ष सन्तोष बराल लगायतको उपस्थिति रहेको थियो ।

फोटो क्याप्सन : वर्कशप सञ्चालकहरुसँग अन्तरक्रिया गरिँदै । (तस्बीर : उज्यालो अभियान)