कार्यक्रममा हरिपूर्वा नगरपालिकाका मेयर सियाराम रायलाई ज्ञापन पत्र बुझाउँदै किशोरकिशोरी । (तस्बिर : उज्यालो अभियान)

टंकबहादुर क्षेत्री/लालबन्दी – माघ र फागुन विशेषगरी विवाह धेरै हुने महिना हुन् । माघ लागेसँगै जताततै विवाहको लहर चलेको छ । झन आज माघ २७ गते विहिबार र भोली २८ गते शुक्रबार धेरै जोडाजोडीको विबाह हुँदैछ ।
तर मधेश तथा उच्च पहाडी भेकमा भने व्यापक रुपमा बाल विवाह हुने गरेका छन् । अझ भनौं मधेशमा त बाल विवाह ब्यापक नै छ । पछिल्ला दिनहरुमा छिटफुट त्यस्ता विवाह रोक्ने प्रयास पनि भईरहे पनि प्रभावकारी देखिएको छैन । नेपालको जारी कानून अनुसार केटा र केटीको उमेर २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाईन्छ । तर मधेशमा १२ वर्षदेखि नै विवाह हुने गरेको छ ।
यसै सन्दर्भमा मधेशमा पर्ने सर्लाही त्यसमा पनि दक्षिण भारतीय सिमा जोडिएको कोर मधेश क्षेत्रका किशोर किशोरीहरुले बाल विवाह रोक्न सबै पक्ष, तह र तप्काले सकृयता देखाउन नसकेको गुनासो गरेका छन् । उनीहरुले विवाहको निमन्त्रणा कार्डमै दुलहा (बेहुला) र दुलही (बेहुली) को जन्ममिती लेख्नुपर्ने आवाज उठाउन थालेका छन् । तराई मधेशमा व्याप्त बाल विवाह प्रथा रोक्नका लागि निमन्त्रणाका कार्डमा जन्ममिति लेख्ने प्रचलन सूरु गरिए निकै प्रभावकारी हुने किशोर किशोरीहरुको दाबी छ ।
जिल्लाको दक्षिण भारतीय सीमासँग जोडिएको पर्सा गाउँपालिका र हरिपूर्वा नगरपालिकाका किशोर किशोरीहरुले बाल विवाह रोक्नका लागि विभिन्न अभियान नै चलाउन सूरु गरेका छन् । यसैक्रममा ती दुवै पालिकाका किशोर किशोरीहरुले बागमती सेवा समाजको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनलको सहयोगमा आयोजित १० दिने रुपान्तरण जीवन उपयोगी तथा आत्मरक्षा सिप मुलक तालिमको गत माघ २० गते समापन समारोहमा हरिपूर्वा नगरपालिकाका मेयर सियाराम राय तथा पर्सा गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष उमेश रायलाई बाल विवाह रोक्ने सहित किशोर किशोरीको क्षेत्रमा काम गर्नका लागि ८ बुँदे कर्तव्य १६ बुँदे अधिकारको बुँदा राखेर ज्ञापन पत्र समेत बुझाएका थिए ।
ज्ञापन पत्रमा विवाहको निमन्त्रणा पत्र प्रिन्ट गर्ने छापाखानालाई र अभिभावकहरुलाई अनिवार्य रुपमा बेहुला र बेहुलीको जन्म मिति राख्ने नीति बनाई कार्यान्वयन गर्नुपर्ने, नगरपालिका/गाउँपालिका वा वडा कार्यालयका कुनैपनि स्थानमा बाल विवाह जस्तो गैह्रकानुनी समारोहमा कुनै पनि जनप्रतिनिधि तथा कर्मचारीहरु सहभागी हुने परिपाटी बन्द गर्नुपर्ने, बाल विवाहमा उमेर नपुग्दा नपुग्दै पनि विभिन्न बहानामा त्यसको समर्थन नगरी त्यसको निरन्तर बिरोध गर्नुपर्ने जस्ता माग राखेका छन् ।
पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहित जनप्रतिनिधिहरु, राजनैतिक दलका नेता, सुरक्षा अधिकारी सहित सरकारी कर्मचारी लगायत समेत बाल विवाह भईरहेको भएपनि त्यस्ता विवाहमा गएर निर्धक्क भोज खाने प्रचलनका कारण बाल विवाह प्रथालाई निरुत्साहित गर्न नसकिएको ती किशोर किशोरीहरुको दाबी छ । बाल अधिकारको क्षेत्रमा क्रियाशिल हरिपूर्वा नगरपालिका–३ धनकौलका १९ वर्षीय रोशन महतो बाल विवाह भईरहेको छ भनेर प्रहरीलाई सूचना दिँदा सूचना दिने व्यक्ति नै धम्कीका कारण त्रासमा पर्ने गरेकाले पनि बाल विवाह रोक्न अप्mठ्यारो भईरहेको गुनासो गर्छन् ।
त्यस्तै ज्ञापन पत्रमा प्रत्येक पालिका तथा वडामा बालबालिकाहरुको गुनासो तथा समस्या सुन्नका लागि संयन्त्रको बिकास गर्नुपर्ने, स्थानीय स्तरमै बालबालिकाहरुलाई कम्तिमा पनि माध्यमिक तह तथा उच्च शिक्षा अनिवार्य प्राप्त गर्ने वातावरण तयार पार्नुपर्ने, दाईजो प्रथा अन्त्य गर्दै विवाहमा दाईजो भन्दा सक्षम र शिक्षित छोरीको बिकास गरी विवाह गर्ने संस्कारको बिकास गर्नका लागि आवश्यक कार्यक्रम तर्जुमा गरी अविलम्ब लागु गर्नुपर्ने, पालिका तथा वडालाई बालमैत्री स्थानीय शासन लागु गर्दै बालकोषको कार्यान्यवन प्रभावकारी रुपमा गर्नुपर्ने जस्ता माग समेटिएका छन् । पर्सा गाउँपालिका–४ की पिंकी शर्मा पनि जनप्रतिनिधि, सुरक्षा निकाय तथा सरकारी कर्मचारी सहित राजनैतिक दलका नेताहरुले बेवास्ता गर्दा बाल विवाह, दाईजो जस्तो प्रथामा कमि आउन नसकेको गुनासो गर्छिन् ।
त्यस्तै ज्ञापन पत्रमा सक्षम र सबल समाज बनाउनका लागि बालबालिका तथा किशोरकिशोरीको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गरिएको छ । बाल अधिकार प्रर्वद्धनमा सक्रिय भूमिका निर्वाह गर्नेछौं, हामी बाल विवाह गर्दैनौं, गर्न दिदैनौं र सहभागी पनि हुँदैनौ, बालबालिका तथा किशोरकिशोरीलाई रुपान्तरण कक्षा मार्फत शिक्षा, स्वास्थ्य, आर्थिक र मनोसामाजिक असरहरुको बारेमा जानकारी गराउनेछौं, बालबालिका तथा किशोर किशोरीलाई कुनै हिंसा, दुव्र्यबहार तथा विभेद् हुन लागेको छ भने त्यसलाई रोक्नको लागि सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराउन मद्दत गर्नेछौं, हामी आफ्नो परिवारलाई घर व्यवस्थापन तथा निर्णय प्रक्रियामा सहभागि नगराउँदा कस्तो बेफाइदा हुन्छ भन्नेबारेमा सचेत गराउनेछौं, हामीले आफ्नो शैक्षिक तथा ब्यक्तित्व विकासका लागि प्राप्त अवसरहरुको पूर्ण सदुपयोग गर्नेछौं, बाल अधिकार संरक्षणका लागि स्थानीय तह तथा विभिन्न सघंसंस्थाबाट संचालित अभियानहरुमा पूर्ण सहयोग गर्नेछौं, संचालन भएका योजना तथा क्रियाकलापहरुको निगरानी तथा मूल्याङ्कन गर्नेछौं जस्ता बालबालिका एवं किशोरकिशोरीहरुको तर्फबाट भनेर प्रतिबद्धता समेत जनाईएको छ ।
तालिम समापन समारोहमा सहभागि बालबालिका एवं किशोरकिशोरीले मेयर राय, वडाध्यक्ष राय, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री, वल्र्डभिजन इन्टरनेसनल नेपालका फिल्ड कार्यक्रम प्रमुख हरि प्रसाद उपाध्याय, बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की, प्रहरी नायव निरिक्षक जितेन्द्र चौधरी, कानून व्यवसायी दिवाकर झा लगायतलाई बालबालिकाको अवस्था तथा सुधारका लागि आफ्नो तर्फबाट के के गरिएको छ भने जिज्ञासा समेत राखेका थिए । तालिममा हरिपूर्वा र पर्साबाट २० जना बालबालिका एवं किशोरकिशोरी सहभागि थिए ।