बाजा बजाएर तालिमको उद्घाटन गर्दै बाँयाबाट क्रमशः प्रदेश सभा सदस्यद्वय बेची लुंगेली र डिल्लीप्रसाद उप्रेती लगायत अन्य अतिथिहरु । (तस्बिर : उज्यालो अभियान)
हरिवन – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ ।
मंगलबारदेखि सुरु भएको १० दिने तालिममा मधेस प्रदेशका आठै जिल्लाबाट २० जना सहभागी रहेका प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताए । चेतना सन्देश नेपालको सह–आयोजनामा हरिवन नगरपालिका–५, घुर्कौलीस्थित द्वन्द्वपीडित बाल गृहमा प्रशिक्षण भैइरहेको छ ।
प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती एबं बेची लुंगेलीले ढोलक र मादल बजाएर तालिमको उदघाटन गरेका छन् । उदघाटन समारोहमा राष्ट्रिय नाच घरका पूर्व अध्यक्ष राजेश थापा, साँस्कृतिककर्मी चन्द्रलाल क्याप्छाकी, नेकपा एकीकृत समाजवादी सर्लाहीका अध्यक्ष समेत रहेका चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा, नेकपा एकीकृत समाजवादी हरिवनका अध्यक्ष चूडामणि वाग्ले, कलाकर्मी तेज नारायण आले लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा मादल, ढोलक लगायत परम्परागत लोकबाजाको प्रशिक्षण दिईने प्रशिक्षक भरत बुढाथोकीले जानकारी दिए । तालिमले रुचि भएका कलापारखीको कलालाई व्यवसायिक बनाउन सहयोग पुग्ने आयोजकले बताएको छ ।