logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीमा मतादाता नामावली संकलन कार्य स्थगित


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा – सर्लाहीमा मंगलबारबाट मतदाता नामावली संकलन कार्य स्थगित गरिएको छ ।

निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि चुनावको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न पाइँदैन । त्यसअनुसार देशभरमा झैँ सर्लाहीमा पनि मतदाता नामावली दर्ता कार्य स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दीवाकर भुजेलले जानकारी दिए ।

पछिल्लाे समय सर्लाहीमा सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयसँगै हरिवन र बरहथवामा रहेका इलाका प्रशासन कार्यालयहरुबाट मतदाता नामावली संकलन भईरहेकाे थियाे । निकै भिड लाग्ने गरेका कारण मंगलबार बिहान ९ बजेदेखि नै फाेटाे खिचाउन सर्बसाधारण ४ वटै स्थानमा आएपनि फाेटाे खिचाउन नपाई फर्किनु पर्दा मलिन अनुहार बनाएर फर्किएका थिए । जिल्ला निर्वाचन प्रमुख भुजेलले यि चारवटै ठाउँमा नामावली दर्ताको काम रोकिएको बताए । १६ वर्ष पुगेपछि नागरिकता बनाउँदा मतदाता परिचय पत्रका लागि फोटो खिचिएपनि चुनावमा मतदान गर्नका लागि भने १८ वर्ष पुगेको हुनुपर्छ ।

आगामी बैशाखमा चुनाव हुँदा मतदान गर्नका लागि चुनाव घोषणा भएको दिन सोमबारसम्म १८ वर्ष पूरा भएकाले मात्रै मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भुजेलले बताए । उनले जिल्लामा कूल कति मतादाता भए भन्ने विवरण आउन केही समय लाग्ने जानकारी दिएका छन् । २०७४ सालको चुनावमा सर्लाही जिल्लाभर ३ लाख ८५ हजार मतदाता थिए ।

२०७७ साल पुसमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेर चुनाव घोषणा गर्दा जिल्लामा मतदाताको संख्या ४ लाख १० हजार पुगेको थियो । त्यसपछि जिल्लामा करिव ५०/६० हजार मतदाता थपिएर कूल मतदाताको संख्या साँढे ४ लाखको हाराहारीमा पुगेको हुनसक्ने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
फोटो क्याप्सन : केही दिनअघि पालिकाको केन्द्रमा गएर मतादाता नामावली संकलन गर्दै गरेका कर्मचारी । (तस्बीर : उज्यालो अभियान)