logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

राजमार्गको खाल्डाखुल्डी पुर्न ढिलाई हुँदा जामैजाम


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको पूर्व-पश्चिम राजमार्ग (हाइवे) का खाल्डाखुल्डी पुर्न ढिलाई गर्दा दुर्घटनाको जोखिम बढेको छ ।

पिच उप्किएर खाल्डो परेको ठाउँमा धूलो उड्दा यात्रु र सडक छेउछाउ घर भएकाहरुले सास्ती खेपिरहँदा दुर्घटनाको जोखिम समेत बढेको हो । चौबिसै घण्टा सवारी साधन दौडिने पूर्व-पश्चिम राजमार्गलाई संवेदनशील मानिन्छ ।

राजमार्गको लालबन्दीस्थित क्याम्पस चौक, नवलपुर बजार क्षेत्र, नयाँरोड लगायतका स्थानमा पिच भत्किएर ठूल्ठूला खाल्डाखुल्डी परेका छन् । ती खाल्डाखुल्डीमा परेर मोटरसाइकल लगायतका सानाखाले सवारी अनियन्त्रितभई पल्टिने गरेको छ ।

यस्तै, तीव्र गतिमा आएका सवारी साधन एक्कासी खाल्डो अगाडि आएर बे्रक लगाउँदा पछाडिबाट अर्को सवारी साधन ठोक्किएर दुर्घटना हुनेक्रम पनि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । यस्तै, पूर्व-पश्चिम राजमार्गस्थित सर्लाहीको लखन्देही खोलाको पुल पनि दिनहुँ जिर्ण बन्दै गइरहेको छ ।

पुलमा खाल्डाखुल्डी परेर सवारी साधन विस्तारै पास हुनुपर्दा दिनहुँ गाडीहरुको जाम लागेको देखिन्छ । पुल जिर्ण हुँदा त्यहाँ पनि सवारी दुर्घटनाको उत्तिकै जोखिम छ ।

देशका उच्चपदस्थ व्यक्तिहरु दिनहुँ ओहोरदोहार गर्ने राजमार्गको पुल मर्मतका लागि कसैले चासो नदिएको भन्दै यात्रुहरुले चिन्ता व्यक्त गर्दै आइरहेका छन् । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले भने राजमार्गका खाल्डाखुल्डी मर्मत गर्ने तयारी भएपनि अलकत्र हाल्न पर्याप्त तापक्रम नपुगेकाले ढिलाई भइरहेको बताएको छ ।
फोटो क्याप्सन : जिर्ण लखन्देही पुलले गर्दा मंगलबार नवलपुर बजारसम्म नै लागेको गाडीको जाम । (तस्बीर : उज्यालो अभियान)